काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा दुईदिने भ्रमणका लागि नेपाल आएका मिस्रीले प्रधानमन्त्रीसँगको भेटमा भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल गर्ने कार्यतालिका छ।
प्रधानमन्त्रीसँगको भेटवार्ता सकेर मिस्री आजै अपराह्न स्वदेश फर्किनेछन्।
नेपाल भ्रमणका क्रममा उनले बुधबार नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–भारत सहकार्यका सम्भावित क्षेत्र र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल भएको थियो।
मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवबीच विशेषगरी प्रधानमन्त्रीको आगामी भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे कुराकानी भएको थियो।
भ्रमणका क्रममा हवाई, रेल, सडक तथा पुललगायत पूर्वाधारमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। त्यस्तै, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सहजीकरण, विकास सहकार्यलाई प्रभावकारी बनाउने, ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने र जनस्तरको सम्बन्ध थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
विदेशसचिव मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि भेटवार्ता गरेका थिए।
अर्थमन्त्री वाग्लेसँगको भेटमा नेपाल–भारत आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको थियो। ऊर्जामन्त्री श्रेष्ठसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार र नेपालमा सञ्चालित विभिन्न परियोजनाको प्रगतिबारे समीक्षा गरिएको थियो। त्यसैगरी, पूर्वाधारमन्त्री लम्सालसँग पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई ध्यानमा राखेर विदेशसचिव मिस्रीको नेपाल भ्रमण केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउन सकिने विषय र सम्भावित एजेन्डाबारे विभिन्न तहमा परामर्श गरिएको हो।
दुई देशका सचिवबीच प्रारम्भिक छलफल भए पनि प्रधानमन्त्रीको भारत भ्रमणको अन्तिम एजेन्डा भने तय हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

















प्रतिक्रिया