गगन थापाको निगरानी गर्न कुनै आदेश नआएको सीआईबी प्रमुखको भनाइ


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने चर्चा र उनीमाथि निगरानी भइरहेको दाबी सार्वजनिक भइरहेका बेला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भने यससम्बन्धी कुनै आदेश प्राप्त नभएको जनाएको छ।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले नेपाल प्रेससँग कुरा गर्दै आफू र आफ्नो कार्यालयलाई थापालाई पक्राउ गर्ने वा निगरानीमा राख्ने विषयमा कुनै निर्देशन नआएको स्पष्ट पारेका छन्। अन्य कुनै प्रहरी कार्यालयमा यससम्बन्धी सूचना वा गतिविधि भएको भए त्यसबारे आफूलाई जानकारी नहुने उनको भनाइ छ।

यता, कांग्रेस सभापति थापाको सचिवालयले भने पछिल्ला दुई दिनदेखि सादा पोशाकका व्यक्तिहरूले उनको निगरानी बढाएको दाबी गरेको छ। सचिवालयका एक सदस्यका अनुसार केही अपरिचित व्यक्ति मोटरसाइकलमा थापाको पछिपछि लाग्ने गरेका छन्। राइड सेयरिङजस्ता देखिने मोटरसाइकलमा आएका व्यक्तिहरू अघिपछि घुम्ने गरेको उनको भनाइ छ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा समेत सादा पोशाकका अपरिचित व्यक्तिको आवतजावत बढेको सचिवालयको दाबी छ।

यसैबीच, प्रहरी स्रोतलाई उद्धृत गर्दै प्राप्त विवरणअनुसार पदमुक्त हुनुअघि तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘माथिको आदेश’ भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापामाथि निगरानी राख्न भनेका थिए।

तर, बिहीबार बिहान कार्यालय समय सुरु भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीहरूलाई दिएको ब्रिफिङमा यससम्बन्धी कुनै निर्देशन नदिएको बताइएको छ। प्रहरी स्रोतका अनुसार बुधबार पनि उनले त्यस्तो निर्देशन दिएका थिएनन्।

यसरी सभापति थापामाथि निगरानी भइरहेको सचिवालयको दाबी र प्रहरी निकायबाट त्यस्तो कुनै आदेश प्राप्त नभएको सीआईबी प्रमुखको भनाइबीच विषयले चर्चा पाएको छ। निगरानीसम्बन्धी दाबीबारे भने आधिकारिक पुष्टि हुन बाँकी छ।