काठमाडौं । अब्दुल अल–सयद अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन्। डेमोक्रेटिक पार्टीका उम्मेदवार अल–सयदले रिपब्लिकन पार्टीका माइक रोजर्सलाई पराजित गर्दै मिसिगनबाट सिनेट चुनाव जितेका हुन्। उनको जितलाई अमेरिकी राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
डेट्रोइटमा आयोजित विजयसभालाई सम्बोधन गर्दै अल–सयदले मिसिगनका मतदाताप्रति आभार व्यक्त गरे। उनले भने, ‘मिसिगन, हामीले यो गरेर देखायौँ! मिसिगनजस्तो महान् राज्यबाट तपाईँहरूको निर्वाचित सिनेटरका रूपमा यहाँ उभिन पाउँदा मलाई धेरै गर्व र सम्मान महसुस भइरहेको छ।’
को हुन् अब्दुल अल–सयद ?
अब्दुल अल–सयदको जन्म र हुर्काइ दक्षिणपूर्वी मिसिगनमा भएको हो। उनका पिता मोहम्मद इजिप्टबाट अमेरिका आएका आप्रवासी हुन् भने उनकी सौतेनी आमा ज्याकीको परिवार पुस्तौँदेखि मिसिगनमा बस्दै आएको छ।
सार्वजनिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका अल–सयदले युनिभर्सिटी अफ मिसिगनबाट उत्कृष्ट नतिजासहित स्नातक गरेका थिए। विद्यार्थी जीवनमा उनी पढाइसँगै खेलकुदमा पनि सक्रिय थिए। उनले फुटबल, कुस्ती र ल्याक्रोस टोलीको कप्तानीसमेत गरेका थिए।
त्यसपछि नेसनल इन्स्टिच्युट्स अफ हेल्थको फेलोसिप सहयोगमा उनले कोलम्बिया विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरे। रोड्स स्कलरका रूपमा अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि उपाधिसमेत हासिल गरे।
चिकित्सक बन्ने प्रशिक्षण लिएका भए पनि उनले पछि सार्वजनिक सेवाको क्षेत्र रोजे। डेट्रोइट सहर आर्थिक संकटमा परेका बेला उनले त्यहाँको स्वास्थ्य विभागलाई पुनः व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यसपछि वेन काउन्टीको स्वास्थ्य, मानव तथा भेट्रान सेवा विभागको पुनर्संरचनाको जिम्मेवारी पनि सम्हाले।
सार्वजनिक स्वास्थ्य क्षेत्रमा काम गर्दा उनले बालबालिकालाई निःशुल्क चश्मा उपलब्ध गराउने, प्राथमिक विद्यालयबाट सिसाजन्य जोखिम हटाउने तथा ओपिओइडको अत्यधिक सेवनबाट हुने मृत्यु कम गर्न प्रयोग गरिने औषधि ‘नार्कन’ सहज रूपमा उपलब्ध गराउनेजस्ता कार्यक्रम अघि बढाए।
अल–सयदले दुई वर्षभित्र मिसिगनका करिब तीन लाख मानिसको ७० करोड डलरसम्मको चिकित्सा ऋण माफ गर्ने लक्ष्यसहितको कार्यक्रमको नेतृत्वसमेत गरेका थिए। सार्वजनिक सेवामा पुर्याएको योगदानको कदर गर्दै उनलाई मिसिगन लिग अफ कन्जर्भेसन भोटर्सले ‘वर्षको सार्वजनिक अधिकारी’ पुरस्कार प्रदान गरेको थियो। उनी क्रेनको डेट्रोइट बिजनेसको ‘४० अन्डर ४०’ सूचीमा पनि परेका थिए।
उनले ‘मेडिकेयर फर अल : अ सिटिजन्स गाइड’ नामक पुस्तकसमेत लेखेका छन्। पुस्तकमा अमेरिकाका सबै नागरिकलाई कसरी किफायती स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विषय समेटिएको छ।
सन् २०२० मा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य सेवासम्बन्धी ‘युनिटी टास्क फोर्स’मा समेत छनोट गरिएको थियो।

















प्रतिक्रिया