काठमाडौँ । जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत जाने भएका छन्।
कार्की निकट एक कानुन व्यवसायीका अनुसार पदमा बहाल रहेको प्रहरी कर्मचारीलाई कानुनी आधारबिना जिम्मेवारीबाट हटाउनु प्रहरी ऐनविपरीत भएको दाबी गर्दै रिट निवेदन दायर गर्न लागिएको हो।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ मा गरिएको व्यवस्थाअनुसार सेवा अवधि, पदावधि र उमेर हदसम्बन्धी कुनै पनि प्रावधानले कार्कीलाई आईजीपी पदबाट हटाउने अधिकार नदिने दाबी रिटमा गरिएको छ।
कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकको सेवा अवधि ३० वर्ष, उमेर हद ५८ वर्ष र पदावधि चार वर्ष तोकिएको छ।
२०२९ साउन १५ गते जन्मिएका कार्की हाल ५४ वर्षका छन्। उनी २०८२ कात्तिक २७ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए। नियुक्तिको एक वर्ष पुग्नुअघि नै उनलाई जिम्मेवारीबाट हटाइएको हो।
कार्कीको पक्षबाट दायर हुने मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्।
कार्कीले आफ्नो पदमुक्तिको निर्णयलाई कानुनी रूपमा चुनौती दिँदै सर्वोच्च अदालतबाट पुनर्बहालीको आदेश माग गर्ने तयारी गरेका हुन्।

















प्रतिक्रिया