हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाअन्तर्गतका १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामान्य प्रशासन समूहअन्तर्गत सातौँ तथा आठौँ तहका अधिकृतहरूको सरुवा गर्दै विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग तथा कार्यालयमा जिम्मेवारी तोकेको हो।
कार्यालयको कात्तिक १८ गतेको निर्णयअनुसार प्रदेशका विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत अधिकृतहरूलाई नयाँ जिम्मेवारीसहित पदस्थापन गरिएको छ। सरुवासँगै प्रदेश सरकारका प्रशासनिक तथा विकाससम्बन्धी मन्त्रालय र अन्य स्वायत्त निकायमा कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ।
पदस्थापन सूचीअनुसार सबैभन्दा धेरै ७९ जना अधिकृतलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय र मातहतका कार्यालयमा खटाइएको छ। सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक जना अधिकृतलाई पदस्थापन गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रशासनिक समन्वय तथा अनुगमनको जिम्मेवारीका लागि पनि शाखा अधिकृतहरू खटाइएको छ।
त्यसैगरी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा शान्ति सुरक्षा, कानुन निर्माण र सहकारी प्रशासनसम्बन्धी जिम्मेवारी निर्वाह गर्ने गरी अधिकृतहरूको पदस्थापन गरिएको छ।
कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन, वातावरण तथा कृषि र पशुपन्छी क्षेत्रको व्यवस्थापनका लागि पनि कर्मचारी खटाइएको छ।
प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश सभा सचिवालय, प्रदेश नीति तथा योजना आयोग (हेटौँडा), प्रदेश सुशासन केन्द्र (ललितपुर) तथा प्रदेश किताबखानामा समेत शाखा अधिकृतहरूको पदस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
एकैपटक ठूलो सङ्ख्यामा कर्मचारीको सरुवा तथा पदस्थापन भएपछि बागमती प्रदेशका विभिन्न मन्त्रालय तथा सरकारी निकायको प्रशासनिक जिम्मेवारीमा फेरबदल भएको छ।

















प्रतिक्रिया