सरकारलाई अजय शिवाकोटीको चेतावनी : आगोमा हात हाल्ने दुस्साहस नगर्नू


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनले कांग्रेसलाई कमजोर ठानेर दबाबमा पार्न खोज्नु सरकारको भ्रम मात्रै भएको टिप्पणी गरेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएपछि उपस्थित भएका शिवाकोटीले ब्युरोबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

कांग्रेसका सहमहामन्त्रीदेखि सभापतिसम्म पक्राउ पर्न सक्ने चर्चा र हल्लाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सरकार भय र भ्रम फैलाउन सक्रिय रहेको आरोप लगाए।

‘सरकार भय र भ्रम सिर्जना गर्न लागिरहेको छ। भ्रमबाट नआत्तिएकाहरूलाई भय देखाएर अत्याउने सरकारको गतिविधि देखिएको छ,’ उनले भने।

शिवाकोटीले नेपाली कांग्रेसको इतिहास स्मरण गराउँदै पार्टीले विगतमा पञ्चायती व्यवस्था र राजाको प्रत्यक्ष शासनविरुद्ध संघर्ष गरेको बताए। इतिहास नपढेकाहरूलाई कांग्रेसको इतिहास पढाउन आफूहरू तयार रहेको उनको भनाइ थियो।

‘कांग्रेस पञ्चायत ढालेर र राजाको प्रत्यक्ष शासनलाई पनि ठाउँमा पुर्‍याएर आएको पार्टी हो। त्यही पार्टीका कार्यकर्ता हामी प्रत्येक पटक त्यो देख्दै र लड्दै आएका छौँ,’ उनले भने।

सरकारलाई चेतावनी दिँदै शिवाकोटीले कांग्रेसमाथि दबाब सिर्जना गर्ने वा तर्साउने प्रयास नगर्न आग्रह गरे। आगोमा हात हाल्ने प्रयास गरे सरकार र नेतृत्वले नै त्यसको ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो।

‘यो आगोमा हात हाल्ने प्रयास हो। अफवाह र प्रोपागान्डा फैलाएर हामीलाई लखेटिहाल्छौँ, लपेटिहाल्छौँ भन्ने भ्रममा सरकार छ भने त्यो भ्रमबाट सरकार चाँडै निस्किए हुन्छ,’ शिवाकोटीले भने।