शक्ति प्रदर्शन गर्न खोज्दा आईजीपी कार्की पदमुक्त भएको रास्वपा सांसदको दाबी


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शक्ति प्रदर्शन गर्न खोजेकै कारण पदबाट अलग गराइएको दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौलागाईंले राज्यको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी सङ्गठनको प्रमुखले नै सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न खोज्नु उचित नभएको बताएका हुन्।

राज्यको कुनै एउटा अङ्गले शक्ति प्रदर्शन गरेर राज्य सञ्चालन हुन नसक्ने उनको भनाइ छ। कार्कीमाथि प्रश्न उठेपछि त्यसलाई विषयान्तर गर्न प्रहरी सङ्गठन प्रयोग गर्न खोजिएको आरोप लगाउँदै उनले त्यसकै परिणामस्वरूप कार्कीलाई पदबाट अलग गरिएको जिकिर गरे।

‘उहाँमाथि प्रश्न उठेपछि त्यसलाई विषयान्तर गर्न प्रहरी सङ्गठनलाई प्रयोग गर्न खोज्नुभयो। उहाँले शक्ति प्रदर्शन गर्न लाग्नुभयो। त्यो शक्ति प्रदर्शनले राज्य चल्दैन थियो। त्यसकारण उहाँलाई बहिर्गमन गराइएको हो,’ उनले भने।

सांसद चौलागाईंले कानुनी जटिलताका कारण कार्कीलाई सीधै पदबाट हटाउनुको सट्टा नयाँ जिम्मेवारी सिर्जना गरेर प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरिएको बताए।

आईजीपीको कार्यकाल बाँकी रहँदै पदबाट हटाउन कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र त्यसका लागि लामो समय लाग्ने भएकाले सरकारको मातहतमा रहेका कर्मचारीलाई अन्य जिम्मेवारीमा खटाउन पाउने अधिकार प्रयोग गरिएको उनको दाबी छ।

कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउनुको उद्देश्य सरकारलाई थप विश्वस्त पात्रका रूपमा राख्नु रहेको पनि उनले बताए।

सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेको प्रसङ्गमा भने सांसद चौलागाईंले अदालतमा विचाराधीन विषयमा अहिले नै टिप्पणी गर्नु उचित नहुने धारणा राखे।