काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटका क्रममा मिस्रीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न आफूहरू आतुर रहेको बताएका थिए। उनले दुवै देशको आपसी समझदारीमा चाँडै भ्रमणको मिति तय हुने विश्वाससमेत व्यक्त गरे।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणलाई मुख्य प्राथमिकतामा राखेर त्यसको तयारी र भ्रमणका क्रममा तय गरिने एजेन्डाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
छलफलमा नेपाल–भारतबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सकारात्मक कुराकानी भएको थियो। ऊर्जा, व्यापार, पूर्वाधार विकास तथा कनेक्टिभिटीजस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्रधानमन्त्रीको भारत भ्रमणमा प्राथमिकता पाउनेबारे पनि छलफल भएको बताइएको छ।
त्यसैगरी, नेपालमा हालै आएको भोटेकोशी बाढीबाट भएको क्षतिप्रति विदेश सचिव मिस्रीले दुःख व्यक्त गरेका थिए। विपत्तिको समयमा भारत सधैँ नेपालको साथमा रहेको उल्लेख गर्दै उनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको धारणा राखेका थिए।
मिस्रीले भारत सरकारका तर्फबाट नेपालको विकास, समृद्धि र आपसी हितका क्षेत्रमा निरन्तर सहयोग तथा सहकार्य जारी रहने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
प्रधानमन्त्री बालेनको मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने प्रस्तावित मिति रहेको छ। यद्यपि, दुवै देशले भ्रमणको मिति औपचारिक रूपमा घोषणा गरिसकेका छैनन्। विदेश सचिव मिस्री स्वदेश फर्केपछि आपसी परामर्शमा भ्रमणको मिति घोषणा गरिने बताइएको छ।
यसअघि विदेश सचिव मिस्रीले नेपालका विभिन्न मन्त्रीहरूसँग पनि भेटवार्ता गरेका थिए। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
ती भेटवार्तामा विभिन्न विकास आयोजना तथा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको थियो। ती आयोजना प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उठाइने एजेन्डा बन्न सक्नेछन्। दुईदिने नेपाल भ्रमण पूरा गरी विदेश सचिव मिस्री बिहीबार नै स्वदेश फर्कँदै छन्।

















प्रतिक्रिया