रवि लामिछाने र भारतीय विदेशसचिव मिश्रीबीच भेटवार्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका विदेशसचिव मिस्री सभापति लामिछानेसँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेका थिए।

भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताको शुभकामना व्यक्त गरेका थिए।

उनले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको पनि उल्लेख गरेका थिए।

भेटवार्तामा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धका विविध पक्षमा छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। उनका अनुसार दुवै पक्षले दुई देशबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी गरेका थिए।