प्रधानसेनापति सिग्देल र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच शिष्टाचार भेटवार्ता भएको छ।

बिहीबार जंगी अड्डामा भएको भेटमा नेपाल र पाकिस्तानबीचको सैन्य सहकार्य तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको पाकिस्तानी दूतावासले जनाएको छ।

दूतावासका अनुसार भेटका क्रममा दुई देशबीच आगामी दिनमा सहकार्यका थप क्षेत्र पहिचान गरी त्यसलाई अघि बढाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

केही समयअघि मात्रै नेपालका लागि पाकिस्तानी राजदूत नियुक्त भएका खानले यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पनि भेटवार्ता गरेका थिए।

प्रधानसेनापति सिग्देलसँगको भेटलाई नेपाल र पाकिस्तानबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यका सम्भावित क्षेत्रबारे छलफल गर्ने अवसरका रूपमा लिइएको छ।