काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले समसामयिक राजनीतिक विषयमा बिहीबार भिडियो सम्बोधन गर्दै पार्टीको आधिकारिकतासम्बन्धी विवाद, इनाम सापकोटाको अडियो प्रकरण, विशेष महाधिवेशन र वर्तमान सरकारबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको बताउँदै थापाले आफू जुनसुकै छानबिनका लागि तयार रहेको बताएका छन्। उनले विशेष महाधिवेशन र पार्टीको आधिकारिकता सम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको दाबीसमेत गरेका छन्।
सरकारको कार्यकालप्रति सम्मान व्यक्त गर्दै उनले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने र खबरदारी गर्ने आफ्नो अधिकार तथा जिम्मेवारी रहेको बताएका छन्।
थापाको सम्बोधनका १० मुख्य विषय र भनाइ यस्ता छन् :
१. आधिकारिकतासम्बन्धी हल्ला बदनियतपूर्ण
थापाले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर फैलाइएको हल्लालाई बदनियतपूर्ण भन्दै खारेज गरेका छन्। पार्टीको आधिकारिकता र नेतृत्वबारे उठेका प्रश्नको जवाफ दिन आफूहरू तयार रहेको उल्लेख गर्दै उनले सबै खालका अनुसन्धानबाट सत्य स्थापित हुनुपर्ने बताएका छन्।
२. विशेष महाधिवेशन पार्टीभित्रको विद्रोह
थापाले विशेष महाधिवेशनलाई केही नेताको व्यक्तिगत महत्त्वाकांक्षाभन्दा पनि पार्टीको तल्लो तहबाट उठेको परिवर्तनको आन्दोलनका रूपमा व्याख्या गरेका छन्। २३ र २४ भदौमा नवयुवाहरूले गरेको विद्रोहबाट प्रेरित भएर पार्टीभित्र परिवर्तनको प्रयास गरिएको उनको भनाइ छ। नेतृत्व परिवर्तनको माग स्वीकार नभएपछि तल्लो तहका कार्यकर्ताले विद्रोह गरेको र आफूहरू त्यसमा सहभागी भएको उनले बताएका छन्।
३. राजनीतिक तथा कानुनी लडाइँमा एक सुको पनि आर्थिक लेनदेन छैन
इनाम सापकोटाको भनिएको अडियोमा विशेष महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी लडाइँमा आर्थिक चलखेल भएको दाबी गरिएको विषयलाई थापाले अस्वीकार गरेका छन्।
‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन,’ उनले भनेका छन्।
४. अडियोको सत्यतथ्य अनुसन्धानबाट खुल्नुपर्छ
थापाले अडियो कहाँ, कहिले, कसले र किन बोलेको हो भन्ने आफूलाई जानकारी नभएको बताएका छन्। अडियोको सत्यता र पृष्ठभूमिबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको माग छ। प्रहरी हिरासतमा रहेका सापकोटामाथि अनुसन्धान गरी यसमा जोडिएका सबै पक्षको भूमिका खोतल्नुपर्ने उनले बताएका छन्।
५. राजनीतिक भेटघाटलाई अडियो प्रकरणसँग जोड्नु गलत
अडियो सार्वजनिक भएपछि आफू डराएर नेताहरूसँग भेटघाट गर्न थालेको भन्ने प्रचारको थापाले खण्डन गरेका छन्। प्रचण्ड, उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका भेटलाई उनले मधेश प्रदेशको सरकार र राजनीतिक संवादको स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्।
६. वर्तमान सरकार पाँच वर्ष चलोस्
थापाले वर्तमान सरकार पाँच वर्षका लागि आएको भन्दै यसको कार्यकाललाई सम्मान गर्ने बताएका छन्। सरकार ढाल्ने वा अस्थिरता सिर्जना गर्ने आफ्नो उद्देश्य नभएको उनको भनाइ छ। तर सरकार आफ्नो जिम्मेवारी र प्राथमिकताबाट विचलित हुन नहुने उनले बताएका छन्।
७. विपद् प्रभावित र सुकुम्बासीको पुनःस्थापनामा ध्यान दिन आग्रह
थापाले विपद्का कारण घरबारविहीन भएका नागरिकको पुनःस्थापना, सुकुम्बासीको उचित व्यवस्थापन, लगानीको वातावरण निर्माण तथा जनतामा बढ्दै गएको डर र निराशा अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
८. लोकतान्त्रिक अधिकारमाथि प्रहार हुँदा कांग्रेस चुप लाग्दैन
लोकतन्त्रमा सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु र खबरदारी गर्नु राजनीतिक दलको जिम्मेवारी भएको थापाको भनाइ छ। सरकारले सही काम गर्दा समर्थन गर्ने तर गलत काम गर्दा प्रश्न उठाउने र आवश्यक परे प्रतिवाद गर्ने उनले बताएका छन्। लोकतान्त्रिक अधिकार खुम्च्याउने तथा राज्यका संस्थालाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने उनको धारणा छ।
९. आफूविरुद्ध प्रायोजित भाष्य निर्माण गरिएको आरोप
सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेपछि आफूविरुद्ध प्रायोजित भाष्य निर्माण गर्न थालिएको थापाले आरोप लगाएका छन्। शक्तिशाली सत्तासँग प्रश्न गर्दा र गलत कामको विरोध गर्दा विगतमा पनि आफ्नो चरित्रमाथि प्रश्न उठाउने प्रयास भएको उनले बताएका छन्।
१०. ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन’
आफू कुनै पनि अनैतिक काममा संलग्न नभएको दाबी गर्दै थापाले आफ्नो नैतिक धरातल कमजोर नभएको बताएका छन्।
‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ, माई ह्यान्ड्स आर क्लिन,’ उनले भनेका छन्।
उनले प्रश्न गर्ने अधिकार र साहस कुनै पनि परिस्थितिमा मर्न नहुनेमा जोड दिएका छन्। ‘क्वेस्चन मर्यो भने डेमोक्रेसी सकिन्छ । डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ,’ थापाले भनेका छन्।
उनले नेतामाथि, सरकारमाथि र राज्यका निकायमाथि प्रश्न उठ्नुपर्ने भन्दै लोकतन्त्रको वास्तविक शक्ति प्रश्न गर्ने स्वतन्त्रतामा रहेको बताएका छन्।

















प्रतिक्रिया