बालबालिका मन्त्री बादीलाई राउटे समुदायको मायाको चिनो, दिए परम्परागत भाँडा


सल्यान । जंगल र आफ्नै मौलिक परम्परामा जीवन बिताउँदै आएको राउटे समुदायका महिला तथा बालबालिकाका समस्या बुझ्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी सल्यानको राउटे बस्ती पुगेकी छन्।

बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग बिहीबार भेटघाट तथा प्रत्यक्ष संवाद गर्दै मन्त्री बादीले उनीहरूको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी हुन्।

भेटका क्रममा उनले विशेषगरी महिला तथा बालबालिकाका समस्या र आवश्यकताबारे चासो राखेकी थिइन्। समुदायको जीवनस्तर सुधार, संरक्षण तथा अवसर विस्तारका विषयमा उनले स्थानीयसँग छलफल गरिन्।

मन्त्रीलाई राउटेको आफ्नै हातको उपहार

मन्त्री बादीको भ्रमणका क्रममा राउटे समुदायका सदस्यहरूले आफ्नै हातले निर्माण गरेका काठका तीनवटा परम्परागत भाँडा मायाको चिनोस्वरूप प्रदान गरे। समुदायको मौलिक सीप, कला र परम्पराको प्रतिनिधित्व गर्ने ती भाँडा ग्रहण गर्दै मन्त्री बादीले राउटे समुदायको परम्परागत सीप संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताइन्।

राउटे समुदायले बनाउने काठका भाँडाकुँडा तथा महिलाहरूले तयार गर्ने माला र अन्य हस्तकलाका सामग्रीलाई उचित बजारसँग जोड्न सके त्यसले उनीहरूको आयआर्जनमा सहयोग पुग्ने उनको भनाइ थियो।

‘परम्परागत सीप र उत्पादनलाई उचित बजार तथा मूल्यसँग जोड्न आवश्यक छ,’ मन्त्री बादीले भनिन्।

राउटे बालबालिकाको शिक्षामा जोड

मन्त्री बादीले राउटे बालबालिकाको शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने बताइन्। उनीहरूको मौलिक संस्कृति, परम्परा र पहिचानको सम्मान गर्दै सिकाइलाई निरन्तरता दिन आवश्यक वातावरण र सहयोग उपलब्ध गराउनुपर्ने उनको धारणा थियो।

उनले बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा संरक्षणको पहुँचमा ल्याउनुपर्नेमा पनि जोड दिइन्।

यसै क्रममा मन्त्री बादीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे बालबालिकाका लागि सञ्चालन गर्दै आएको घुम्ती सिकाइ केन्द्रको अवलोकन गरिन्। उनले त्यहाँ भइरहेको शिक्षण प्रक्रिया, बालबालिकाको सिकाइ अवस्था र शैक्षिक गतिविधिबारे जानकारी लिएकी थिइन्।

राउटे समुदायसँगको प्रत्यक्ष भेटघाटले महिला तथा बालबालिकाका समस्या, परम्परागत सीपको संरक्षण, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका अवसर विस्तारका विषयमा नजिकबाट बुझ्ने अवसर दिएको मन्त्री बादीले बताइन्।