सत्ताधारी दलभित्रको असमझदारी लोकतन्त्रका लागि शुभ संकेत होइन : डा. भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्र सरकार र पार्टीबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थाल्नु देश र लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका हुन् ।

उनले विगतका राजनीतिक घटनाक्रम स्मरण गर्दै दलभित्रको आन्तरिक संघर्ष र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई ठूलो क्षति पुर्‍याएको उल्लेख गरेका छन् ।

भट्टराईले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका समूहबीचको विवाद, २०४७ पछि कांग्रेसमा ७४ र ३६ सांसद समूहबीचको विभाजन तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको संघर्षलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधीबीच तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षधरबीच भएको अन्तर्संघर्षले पनि देशलाई नोक्सान पुर्‍याएको उनको भनाइ छ ।

‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्,’ उनले लेखेका छन् ।

जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक दलले गरेका गल्ती नदोहोर्‍याउनुपर्नेमा जोड दिँदै भट्टराईले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न सुझाव दिएका छन् ।