राष्ट्रपतिको दौडमा उत्रिने तयारी, ट्रम्प प्रशासन छाड्दै विदेशमन्त्री रोबियो


काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन छाड्ने तयारी गरिरहेको चर्चा सुरु भएको छ। सन् २०२८ मा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्ने सम्भावनालाई ध्यानमा राख्दै उनले प्रशासनबाट बाहिरिने विकल्पबारे विचार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अज्ञात स्रोतलाई उद्धृत गर्दै रुबियोले आफ्नो राजनीतिक भविष्यबारे विभिन्न विकल्पमाथि छलफल गरिरहेको उल्लेख गरेका छन्।

बेलायती सञ्चारमाध्यम ‘द इन्डिपेन्डेन्ट’का अनुसार मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमत गुमाएपछि रुबियोले ट्रम्प प्रशासन छाड्न सक्ने सम्भावना बढेको छ। सन् २०२८ को राष्ट्रपति चुनावमा पार्टीको उम्मेदवार बन्ने लक्ष्यसहित उनले यस्तो निर्णय लिन सक्ने रिपोर्टमा दाबी गरिएको छ।

ब्लूमबर्गले पनि रुबियोले ह्वाइट हाउसका अधिकारीहरूसँग पद छाड्ने सम्भावनाबारे कुराकानी गरेको जनाएको छ। केही स्रोतका अनुसार उनलाई प्रशासनमै रहेर काम गर्न प्रोत्साहित गरिएको थियो। तर, रुबियोको कार्यालयले पद छाड्ने तयारीबारेका दाबी अस्वीकार गरेको छ।

यसबीच, रुबियोले ‘न्युयोर्क टाइम्स’सँगको अन्तर्वार्तामा आफू ट्रम्पको कार्यकालको अन्त्यसम्म प्रशासनमा रहेर काम गर्ने योजनामा रहेको बताएका छन्। उनले सन् २०२८ को राष्ट्रपति चुनावबारे अहिले थप टिप्पणी गर्न चाहेनन्।

रुबियो हाल अमेरिकी विदेशमन्त्रीसँगै ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारीमा पनि छन्। ट्रम्प प्रशासनमा दोहोरो महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उनको सम्भावित बहिर्गमनबारेको चर्चालाई अमेरिकी राजनीतिमा चासोका साथ हेरिएको छ।

सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीभित्र सम्भावित उम्मेदवारको चर्चा सुरु भइसकेको छ। उपराष्ट्रपति जेडी भान्ससँगै रुबियोलाई पनि सम्भावित उम्मेदवारका रूपमा हेरिँदै आएको छ। यद्यपि, रुबियोले आफ्नो उम्मेदवारी वा प्रशासन छाड्ने निर्णयबारे औपचारिक घोषणा गरेका छैनन्।