पाकिस्तानमा भीषण सडक दुर्घटना, बस र ट्रक ठोक्किँदा ११ जनाको मृ-त्यु


काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा परी ११ जनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये आठ जनालाई सामान्य चोट लागेको छ भने अन्य २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

मुल्तानबाट कसुरतर्फ जाँदै गरेको बस देपालपुर सडकखण्डमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको जिल्ला प्रशासनले जनाएको छ। दुर्घटनापछि उद्धारकर्मीहरूले क्रेन तथा अन्य भारी उपकरण प्रयोग गरेर करिब तीन घण्टासम्म उद्धार कार्य गरेका थिए।

यसैबीच, पञ्जाब प्रान्तमा अक्टोबर महिनामा मात्रै ४४ हजार ७९७ वटा सडक दुर्घटना भएका छन्। उद्धार विभागका अनुसार ती दुर्घटनामा ४६४ जनाको मृत्यु भएको छ भने २३ हजार ५४३ जना गम्भीर घाइते भएका छन्। तीमध्ये करिब तीन चौथाइ दुर्घटनामा मोटरसाइकल संलग्न थिए।

उक्त महिनामा उद्धार सेवा ११२२ ले दुई लाख ३१ हजार ५६ वटा आपत्कालीन घटनामा सेवा प्रदान गरेको थियो। यस अवधिमा एक हजार ७२६ आगलागी र ९४ वटा डुब्ने घटना पनि अभिलेख गरिएको विभागले जनाएको छ।

प्रान्तीय राजधानी लाहोरमा मात्रै अक्टोबर महिनामा सबैभन्दा बढी सात हजार ८७४ सडक दुर्घटना भएका थिए।