तिहार सुरु भएसँगै आज कागको पूजा गरी मनाइँदै काग तिहार


काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज आइतबार देशभर काग तिहार मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको दूतका रूपमा सम्मानपूर्वक पूजा गर्ने र मिठा खानेकुरा दिने परम्परा छ । बिहान सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज शास्त्रसम्मत रूपमा काग तिहार मनाइएको हो ।

वैदिक सनातन हिन्दु धर्मअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने धार्मिक विश्वास छ । कागले पृथ्वीमा रहेका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण यमराजसमक्ष पुर्‍याउने मान्यता रहिआएको छ । यही विश्वासका आधारमा कागलाई यमराजको दूत मानेर पूजा गर्ने चलन बसेको हो ।

काग तिहारका दिन घरको छत, आँगन वा खुला स्थानमा कागका लागि खानेकुरा राखिदिने गरिन्छ । विशेषगरी दही, भातलगायत परिकार कागलाई चढाउने परम्परा छ । कागलाई खानेकुरा नदिई आफूले भोजन गरे पाप लाग्ने धार्मिक मान्यता पनि समाजमा प्रचलित छ ।

नेपाली समाजमा काग कराउनुलाई पाहुना आउने वा कुनै सन्देश प्राप्त हुने सङ्केतका रूपमा समेत लिने गरिन्छ । धार्मिक मान्यतासँगै काग तिहारले प्रकृति, चराचुरुङ्गी र मानवबीचको सम्बन्धलाई स्मरण गराउँदै सबै जीवप्रति सम्मान र सहअस्तित्वको सन्देशसमेत दिन्छ ।

कागको पूजा गर्दा यमराजको सम्भावित संकटबाट रक्षा होस् भन्ने कामनासहित विशेष मन्त्रसमेत उच्चारण गर्ने धार्मिक परम्परा छ ।

‘कागोऽसि यमदूतोऽसि वायसोऽसि महामते । ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङ्कटात् ।।’

यस मन्त्रको भावार्थ कागलाई यमराजको दूतका रूपमा सम्बोधन गर्दै आफूले अर्पण गरेको भोजन स्वीकार गरी यमराजबाट आउन सक्ने संकटबाट रक्षा गरिदिन प्रार्थना गर्नु हो ।

धार्मिक कथनअनुसार भगवान् विष्णुले राजा बलिको दानशीलताबाट प्रसन्न भएर उनलाई वर्षमा पाँच दिन पृथ्वीको शासन गर्ने अधिकार दिएको विश्वास गरिन्छ । यही अवधिमा बलिराजाको पूजा गरे भगवान् विष्णु प्रसन्न हुने धार्मिक मान्यता पनि तिहारसँग जोडिएको छ ।

काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरलगायत विभिन्न धार्मिक स्थलमा विशेष पूजा आराधना गरिन्छ । हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ ।

काग तिहारसँगै सुरु भएको यमपञ्चकमा क्रमशः कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्द्धन पूजा तथा भाइटीका मनाइन्छ । पाँच दिनसम्म मनाइने यस पर्वले आपसी सद्भाव, पारिवारिक प्रेम र धार्मिक आस्थालाई प्रगाढ बनाउने विश्वास गरिन्छ ।