काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर बढ्दै गएपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका क्षेत्रमा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ।
वायु प्रदूषण निरन्तर बढेपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (जीआरएपी) को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो।
राजधानी क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सीएक्यूएम) का अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्वहरू वायुमण्डलमा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो। उक्त स्तर ‘अत्यन्त खराब’ श्रेणीमा पर्छ।
आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्काल लागू हुने गरी जीआरएपीको तेस्रो चरणका उपाय कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै, सम्बन्धित निकायलाई प्रदूषण नियन्त्रणका उपाय कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।
नयाँ व्यवस्थाअनुसार अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने काममा प्रतिबन्ध लगाइएको छ। उत्खनन, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मतसम्भारका कामसमेत रोकिएका छन्।
त्यस्तै, दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। भारत स्टेज (बीएस) सवारीसाधनबाट उत्सर्जन हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको मापदण्ड हो।
यसैबीच, स्वास्थ्य विज्ञहरूले सर्वसाधारणलाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर शारीरिक गतिविधि नगर्न सुझाव दिएका छन्। लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट समेत टाढा रहन उनीहरूको आग्रह छ। विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई घरबाहिर शारीरिक गतिविधि नगर्न सुझाव दिइएको छ।
दिल्ली विश्वकै उच्च वायु प्रदूषण हुने सहरमध्ये एक हो। औद्योगिक गतिविधि, सवारीसाधनको अत्यधिक चाप र व्यापक निर्माण कार्यलाई यहाँको वायु प्रदूषणका प्रमुख कारण मानिन्छ। विगतका वर्षहरूमा पनि जाडो मौसम सुरु हुनुअघि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुग्ने गरेको छ।

















प्रतिक्रिया