हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणमा सीमित नभई सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको बताए।
प्रदेश प्रमुख देवकोटाले आलोचना लोकतन्त्रको सुन्दर पक्ष भए पनि त्यो तथ्यमा आधारित, रचनात्मक र जिम्मेवार हुनुपर्नेमा जोड दिए। डिजिटल प्रविधिको तीव्र विकाससँगै गलत सूचना, भ्रामक समाचार तथा सामाजिक सञ्जालको दुरुपयोगका चुनौती बढिरहेको उल्लेख गर्दै उनले पत्रकारितामा व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्वको महत्त्व झन् बढेको बताए।
पत्रकारिताको स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको उनको भनाइ थियो। उनले सञ्चारसम्बद्ध संस्थाहरूलाई श्रमजीवी पत्रकारको हकहित संरक्षण तथा व्यावसायिक पत्रकारिताको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै यस्ता चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

















प्रतिक्रिया