श्रीमतीको मुद्दा सर्वोच्चमा विचाराधीन हुँदा श्रीमान् न्यायाधीश बन्न मिल्छ ? वर्षमानको प्रश्न


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइका क्रममा स्वार्थको द्वन्द्व र न्यायिक निष्पक्षताबारे प्रश्न उठाएका छन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा पुनले पाण्डेकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी स्वयं सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुन लागेकाले स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने भन्दै स्पष्ट जवाफ मागेका हुन् ।

पुनका अनुसार पाण्डेकी श्रीमतीसँग सम्बन्धित सरकारी जग्गा कब्जा गरेको आरोपको मुद्दा विशेष अदालतमा पुगेको थियो । विशेष अदालतबाट फैसला भएपछि दुवै पक्ष सर्वोच्च अदालत गएको र मुद्दा अहिले पनि विचाराधीन रहेको उनले बताए ।

यस्तो अवस्थामा पाण्डे सर्वोच्च अदालतको न्यायाधीश बनेमा न्यायिक निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने पुनको भनाइ थियो ।

‘श्रीमतीको मुद्दा अहिले सर्वोच्चमा छ । त्यो मुद्दा सरकारी जमिन कब्जा गरेको विषयसँग सम्बन्धित छ । विशेष अदालतबाट फैसला भएको देखिन्छ र दुवै पक्ष सर्वोच्च अदालतमा गएका छन् । यस्तो अवस्थामा तपाईँ स्वयं सर्वोच्च अदालतमा जाँदै हुनुहुन्छ । यसमा स्वार्थको द्वन्द्व हुँदैन ?’ पुनले प्रश्न गरे ।

स्वार्थ बाझिने मुद्दामा सम्बन्धित न्यायाधीश अलग हुने प्रचलन रहे पनि त्यसले मात्र जनताको आशङ्का मेटाउन पर्याप्त नहुने पुनले बताए । सर्वोच्च अदालतका न्यायाधीशहरूबीच आपसी सम्बन्ध र सहकार्य रहने भएकाले यस विषयमा प्रस्तावित न्यायाधीशले समितिलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

‘स्वार्थ बाझिने अवस्थामा न्यायाधीश अलग हुने परम्परा छ । तर सर्वोच्च अदालतका २१ जना न्यायाधीश साथीभाइ नै हुने अवस्था छ । त्यसैले यस विषयमा समितिलाई चित्तबुझ्दो जवाफ दिनुपर्छ,’ पुनले भने ।