झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निर्देशनपछि झापामा भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण प्रक्रिया तीव्र पारिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिले पहिलो चरणमा जिल्लाका तीन स्थानीय तहका दुई हजार ३३९ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको छ । समितिको बैठकले बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाबाट प्रमाणीकरण भएर आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नामावली सार्वजनिक गरेको हो ।
समितिका अनुसार पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकाका एक हजार ३६४, अर्जुनधारा नगरपालिकाका ९६४ र मेचीनगर नगरपालिकाका ११ परिवारले जग्गाधनी पुर्जा पाउनेछन् ।
एकैपटक दुई हजार ३३९ परिवारलाई पुर्जा वितरण गर्ने तयारी झापाको इतिहासमै महत्वपूर्ण उपलब्धि हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार अन्य स्थानीय तहबाट पनि नामावली प्रमाणीकरण भएर आएपछि आवश्यक छानबिन गरी दोस्रो चरणको सूचना प्रकाशन गरिनेछ ।
झापामा भूमिहीन दलित दुई हजार ८९६, भूमिहीन सुकुम्बासी १५ हजार ७८३ र अव्यवस्थित बसोबासी ४१ हजार ८५१ गरी कुल ६० हजार ५७० परिवारले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् । यसबाहेक विगतका भूमि आयोगका पालामा प्रक्रिया अधुरो रहेका पाँच हजार २९६ परिवारका निवेदनसमेत रहेका छन् ।
केही दिनअघि झापा भ्रमणमा आएकी मन्त्री रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको काम तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी पोखरेललाई निर्देशन दिएकी थिइन् । सोही निर्देशनअनुसार थप जनशक्ति परिचालन गरी पुर्जा वितरण प्रक्रिया अघि बढाइएको हो ।

















प्रतिक्रिया