विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा पटाका पड्काउने क्रममा सल्किएको आगोले पाँच वटा घर तथा संरचना जलेर नष्ट भएका छन्। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाईगोठ, भान्छाघर र भण्डारघरसहित पाँच वटा संरचना आगलागीमा जलेर नष्ट भएका हुन्।
बुधबार साँझ ६ः४५ बजे सुरु भएको आगलागी दमकल, स्थानीयवासी तथा सुरक्षाकर्मीको प्रयासमा मध्यरातमा नियन्त्रणमा लिइएको थियो। आगो निभाउन रतुवामाई र रंगेली नगरपालिका तथा कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ।
आगलागीका क्रममा गाईगोठबाट गाईगोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ।
प्रहरीले पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया