काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मकवानपुरको भीमफेदीमा भएको दर्दनाक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा छठ मनाउन घर फर्किंदै गरेका एकै गाउँका १० जनाले ज्यान गुमाएको र ६ जना घाइते भएको घटनाले आफूलाई अत्यन्तै मर्माहत बनाएको घिसिङले बताएका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
हरेक वर्ष चाडपर्वका समयमा सडक दुर्घटना बढ्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै घिसिङले सवारीसाधनमा सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
विशेषगरी विद्युतीय सवारीसाधनका प्राविधिक विशेषतालाई ध्यानमा राखेर चालकलाई आवश्यक तालिम र सचेतना प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
‘चाडपर्वको खुसी मनाउन घर फर्किने यात्राको अन्त्य शोकमा हुन नदिन सरकार, यातायात व्यवसायी र यात्रु सबै जिम्मेवार बनौँ,’ घिसिङले भनेका छन्, ‘सडक सुरक्षा र नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिऔँ।’
उनले सडक दुर्घटना न्यूनीकरणका लागि सरकार, यातायात व्यवसायी र यात्रु सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सन्देश दिएका छन् ।

















प्रतिक्रिया