काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन् । न्यायपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले बिहीबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरूलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द यसअघि उच्च अदालत पोखराको मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए । त्यस्तै, चन्द्रबहादुर सारु उच्च अदालत पाटनमा न्यायाधीशका रूपमा कार्यरत थिए ।
यसैगरी, जनक पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासमा तथा गोकर्ण डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।
उच्च अदालतमा न्यायिक जिम्मेवारी सम्हाल्दै आएका उनीहरूलाई न्यायपरिषद्को सिफारिसपछि सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो ।
चार जना नयाँ न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थपिएको छ । उनीहरूको नियुक्तिपछि सर्वोच्च अदालतको न्यायिक कामकारबाही तथा मुद्दा सुनुवाइ प्रक्रियामा कस्तो प्रभाव पर्छ भन्ने चासोसमेत बढेको छ ।

















प्रतिक्रिया