काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पार्टी नेताहरूलाई भ्रमणलाई घुमघाममा मात्रै सीमित नराख्न निर्देशन दिएका छन् । उनले चीनबाट नेपालले लिन सक्ने आर्थिक, प्राविधिक, व्यापारिक तथा अन्य सम्भावनाको अध्ययन गरेर भ्रमणलाई उपलब्धिमूलक बनाउन आग्रह गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन जान लागेको रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री शाहले आज सिंहदरबारमा भेटवार्ता गरेका थिए । रास्वपा संसदीय दलका नेतासमेत रहेका शाहले भ्रमणअघि प्रतिनिधिमण्डलका सदस्यहरूलाई बोलाएर छलफल तथा आवश्यक निर्देशन दिएका हुन् ।
रास्वपा प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार भेटमा चीन भ्रमणको तयारी, दुई देशबीचको सम्बन्ध र भ्रमणका क्रममा अपनाउनुपर्ने सावधानीका विषयमा छलफल भएको थियो ।
‘हामीले भ्रमणका बारेमा केही कुराहरू राख्यौँ । दुई देशबीचको सम्बन्ध र हामी जाँदा अपनाउनुपर्ने सावधानीका कुरामा प्रधानमन्त्रीबाट केही निर्देशन भयो,’ बुर्लाकोटीले भने ।
प्रधानमन्त्री शाहले प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले चीनको विकास अनुभवबाट नेपालले लिन सक्ने लाभका क्षेत्र पहिचान गर्न पनि सांसदहरूलाई सुझाव दिएका थिए ।
प्रविधि, व्यापारदेखि कृषिसम्मका विषयमा अध्ययन गर्न सुझाव
बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाहले चीनसँगको सम्बन्धलाई कूटनीतिक तहमा मात्रै सीमित नराखी आर्थिक तथा व्यावहारिक लाभका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने बताएका थिए ।
चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र र पर्यटनका क्षेत्रमा धेरै कुरा सिक्न तथा लाभ लिन सक्ने प्रधानमन्त्रीको भनाइ थियो । विशेषगरी कृषिको आधुनिकीकरणका क्षेत्रमा चीनले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने भन्दै उनले यस विषयमा समेत ध्यान दिन आग्रह गरेका थिए ।
नेपालले चीनसँगको सहकार्यबाट लिन सक्ने सम्भावित लाभका क्षेत्र पहिचान गर्ने, विकासका नयाँ अभ्यासबारे जानकारी लिने र ती अनुभवलाई नेपालको आवश्यकताअनुसार उपयोग गर्ने विषयमा प्रधानमन्त्रीले जोड दिएको बुर्लाकोटीले बताए ।
‘घुमघाम मात्रै नहोस्, नेपालको हितमा काम होस्’
प्रधानमन्त्री शाहले सांसदहरूको चीन भ्रमण केवल औपचारिक भेटघाट र घुमघाममा सीमित हुन नहुने स्पष्ट निर्देशन दिएका छन् ।
‘भ्रमणमा घुमघाम मात्रै नहोस्, दुई देशको हितको लागि र विशेषगरी नेपालको हितको लागि काम गर्न सक्ने हिसाबको भ्रमण होस् भन्ने हिसाबको निर्देशन भएको छ,’ बुर्लाकोटीले भने ।
प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको विकास मोडल, प्रविधिको प्रयोग, आर्थिक गतिविधि, कृषि प्रणाली तथा पर्यटन प्रवर्द्धनका अभ्यासबारे जानकारी लिनुपर्नेमा जोड दिएका थिए ।
उनका अनुसार प्रधानमन्त्रीले पार्टीको प्रतिनिधिमण्डलले भ्रमणलाई फलदायी बनाउँदै नेपालका लागि उपयोगी अनुभव र सम्भावनाहरू पहिचान गरेर फर्कने विश्वास व्यक्त गरेका थिए ।
विपिन आचार्यको नेतृत्वमा १० दिने चीन भ्रमण
चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमण १० दिनको हुने प्रमुख सचेतक बुर्लाकोटीले जानकारी दिएका छन् ।
भ्रमण टोलीमा सांसद, पार्टीका नेता तथा विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुनेछन् ।
प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा र डा. धनञ्जय रेग्मी रहेका छन् ।
त्यस्तै, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमणमा सहभागी हुनेछन् ।
चीन भ्रमणका क्रममा प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, व्यापार, पर्यटन तथा कृषि आधुनिकीकरणलगायत विषयमा जानकारी लिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीको निर्देशनअनुसार भ्रमणलाई नेपालको राष्ट्रिय हितसँग जोडिएका विषयको अध्ययन, अनुभव आदानप्रदान र द्विपक्षीय सम्बन्ध विस्तारको अवसरका रूपमा उपयोग गर्ने चुनौती प्रतिनिधिमण्डलसामु रहेको छ ।

















प्रतिक्रिया