जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको यादव नेतृत्वको सरकारको भविष्य आज हुने प्रदेशसभा बैठकबाट तय हुने भएको छ।
प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहनेछ। सभामुख रामआशिष यादवका अनुसार विश्वासको मतसम्बन्धी प्रस्तावसहित बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्नेछ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारलाई नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो।
मुख्यमन्त्री यादवको दल नेपाली कांग्रेससँग प्रदेशसभामा २२ सांसद छन्। यस आधारमा सरकार जोगाउन उनले अन्य दलका कम्तीमा ३२ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ। तर, पछिल्लो राजनीतिक घटनाक्रमले उनको पक्षमा आवश्यक बहुमत जुटाउन चुनौतीपूर्ण देखिएको छ।
एमालेका चार मन्त्रीले यसअघि नै सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि गत कात्तिक २० गते राजीनामा दिएर सरकारबाट समर्थन फिर्ता लिएका थिए। दुई प्रमुख सत्ता साझेदार दल बाहिरिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन्।
यस्तो छ प्रदेशसभाको अंकगणित
मधेश प्रदेशसभामा जनता समाजवादी पार्टी नेपाल २७ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। त्यसैगरी नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।
प्रदेशसभाको यही अंकगणितका कारण कुनै पनि दलको एकल बहुमत छैन। सरकार गठन र निरन्तरताका लागि दलहरूबीचको सहकार्य तथा राजनीतिक समीकरण निर्णायक बन्ने देखिन्छ।
जसपा नेपालको भूमिका निर्णायक बन्न सक्ने
वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपालको भूमिका महत्वपूर्ण देखिएको छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले नयाँ सरकार गठनको सम्भावित समीकरणमा जसपा नेपालको समर्थन निर्णायक हुन सक्छ।
एमाले, जसपा नेपाल र जनमत पार्टीबीच सहकार्य हुन सके नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने अंकगणित देखिन्छ। यी तीन दलको सिट संख्या जोड्दा ६२ पुग्छ। त्यसैले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा यिनै दलबीचको सहकार्यले मधेशको आगामी सत्ता समीकरण निर्धारण गर्न सक्नेछ।
यद्यपि नयाँ सरकार गठनका विषयमा दलहरूको औपचारिक सहमति र समर्थनसम्बन्धी निर्णय महत्वपूर्ण हुनेछ। विभिन्न दलका नेताहरूबीच छलफल र राजनीतिक परामर्श जारी रहेकाले अन्तिम निर्णयसम्म सत्ता समीकरणमा फेरबदल हुन सक्ने सम्भावना पनि छ।
विश्वासको मत नपाए के हुन्छ?
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके पदमुक्त हुनेछन्। त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।
नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु हुनेछ। त्यसरी सरकार गठन हुन नसकेको अवस्थामा संविधानले व्यवस्था गरेका थप विकल्पहरू प्रयोग गरिनेछन्।
यसैले आजको प्रदेशसभा बैठकलाई मधेश प्रदेशको सत्ता राजनीतिका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। मुख्यमन्त्री यादवले आवश्यक ५४ सांसदको समर्थन जुटाउन सक्छन् वा सक्दैनन् भन्ने विषयले प्रदेशको आगामी राजनीतिक दिशा तय गर्नेछ।
प्रदेशसभाको आजको मतदानले वर्तमान सरकारको निरन्तरता मात्र होइन, मधेशमा नयाँ सत्ता समीकरणको ढोकासमेत खोल्न सक्ने देखिएको छ।

















प्रतिक्रिया