प्रदेश सरकारबाट बाहिरिए यादव, प्रदेश प्रमुखसमक्ष राजीनामा


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा पत्र बुझाउँदै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका हुन्।

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।

प्रदेश प्रमुखलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा उनले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै प्रदेशमा नयाँ सरकार गठनका लागि सहज वातावरण निर्माण गर्न आफूले राजीनामा दिने निर्णय गरेको बताएका छन्।

यादवले २०८२ मङ्सिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई कार्यभार सम्हालेको स्मरण गराएका छन्। उनले शनिबार कात्तिक २८ गतेदेखि लागू हुनेगरी राजीनामा पेस गरेको पत्रमा उल्लेख गरेका छन्।

राजीनामा पत्रमार्फत उनले आफ्नो कार्यकालमा प्रदेशको विकास, सुशासन र समृद्धिका लागि सहयोग गर्ने प्रदेश प्रमुख, प्रदेशसभाका सदस्य, मन्त्रिपरिषद्का सहकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण प्रदेशवासीप्रति आभार व्यक्त गरेका छन्।

यसअघि शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिनुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र विद्यमान राजनीतिक परिस्थितिको निकासका लागि आफूले राजीनामा दिने निर्णय गरेको बताएका थिए।

उनले राजनीतिक स्थिरता र प्रदेशको हितलाई प्राथमिकतामा राख्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु उपयुक्त हुने धारणा राखेका थिए।

मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। अब प्रदेश प्रमुखले संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार सरकार गठनको आगामी प्रक्रिया अगाडि बढाउनेछन्।

मधेस प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच नयाँ सरकार गठन र नेतृत्व चयनका विषयमा छलफल तथा सहमतिको प्रक्रिया अघि बढ्ने देखिएको छ।