काठमाडौँ । प्रहरीले बिचौलिया इनम सापकोटासँग सम्बन्ध देखिएका महेश श्रेष्ठलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले श्रेष्ठलाई कीर्तिपुरस्थित पागा क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठको पुर्ख्यौली घर भोजपुर रहेको खुलेको छ। इनम सापकोटासँग उनको सम्पर्क तथा आर्थिक कारोबारसम्बन्धी कनेक्सन देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठबाट इनम सापकोटातर्फ ठूलो रकम गएको दाबी गरिएको छ। उक्त रकम कुन प्रयोजनका लागि र कुन माध्यमबाट कारोबार भएको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले महेश श्रेष्ठ पक्राउ परेको पुष्टि गरेका छन्।
इनम सापकोटासँग जोडिएको आर्थिक कारोबार र बिचौलियाको भूमिकाबारे अनुसन्धान भइरहेका बेला श्रेष्ठको पक्राउलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। प्रहरीले उनीहरूबीचको आर्थिक सम्बन्ध, कारोबारको प्रकृति तथा अन्य संलग्न व्यक्तिहरूबारे समेत अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ।
यस प्रकरणमा थप तथ्य सार्वजनिक हुन बाँकी छ।

















प्रतिक्रिया