मोरङमा कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते, देउवा पक्षको तयारी


विराटनगर । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आगामी मंसिर १ गते मोरङ जिल्ला अधिवेशन गर्ने भएको छ। अधिवेशनमा करिब ४ हजार ५ सय क्षेत्रीय प्रतिनिधि सहभागी हुने र ८७ देखि ८८ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिने जनाइएको छ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवा पक्षधर नेता तथा मोरङ जिल्ला अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि खटिएका केदार कार्की र केन्द्रीय निर्वाचन समितिका सदस्य रुपेश कोइरालाले अधिवेशनको तयारीबारे जानकारी दिएका हुन्।

नेता कार्कीका अनुसार मोरङमा जिल्ला अधिवेशनका लागि आवश्यक तल्ला तहका सबै अधिवेशन सम्पन्न भइसकेका छन्। जिल्लाका १५९ वडा, १७ पालिका, ६ संघीय निर्वाचन क्षेत्र र १२ प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको उनले बताए।

मंसिर १ गते बिहान ११ बजे विराटनगरमा जिल्ला अधिवेशनको उद्घाटन हुनेछ। पूर्वनिर्धारित कार्यक्रमअनुसार डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिने कार्कीले जानकारी दिए। उद्घाटनपछि बन्दसत्र सञ्चालन गरी निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

उनका अनुसार स्थानीय तहबाटै प्रतिनिधित्व सुनिश्चित हुने गरी जिल्ला कार्यसमिति गठन गरिनेछ। नयाँ जिल्ला कार्यसमिति करिब ८७ देखि ८८ सदस्यीय रहनेछ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले जिल्ला नेतृत्व चयन गर्नेछन्।

यसैबीच, कांग्रेसको प्रदेश अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरिएको छ। कार्कीका अनुसार मंसिर ४ गतेदेखि प्रदेश अधिवेशनको प्रक्रिया सुरु हुनेछ भने मंसिर ५ गते गण्डकी प्रदेशबाट अधिवेशन प्रारम्भ हुनेछ।

कोशी प्रदेशको अधिवेशन भने मंसिर १६ गते विराटनगरमा आयोजना गरिनेछ। त्यसको तयारी र कार्यतालिकालाई अन्तिम रूप दिन कात्तिक ३० गते प्रदेशका जिल्ला संयोजक तथा नेताहरूको बैठक बस्ने उनले बताए।

आफूहरूले गर्न लागेको जिल्ला अधिवेशन समानान्तर नभई पार्टीको नियमित महाधिवेशन प्रक्रिया भएको कार्कीको दाबी छ। अधिवेशनको वैधानिकतामाथि उठ्न सक्ने प्रश्नबारे उनले पार्टीको विधान र निर्धारित प्रक्रियाअनुसार नै गतिविधि अघि बढाइएको जिकिर गरे।

केन्द्रीय महाधिवेशनमा आफ्नो दाबेदारीबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा कार्कीले तत्काल आफ्नो प्राथमिकता पार्टी निर्माण र आफूलाई दिइएको जिल्ला अधिवेशनको जिम्मेवारी पूरा गर्नु रहेको बताए।

यता, केन्द्रीय निर्वाचन समितिका सदस्य रुपेश कोइरालाले तल्ला तहका अधिवेशनमा सहमति भएका स्थानमा सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको जानकारी दिए।

उनले अहिलेसम्म सम्पन्न भएका निर्वाचन पार्टी विधानअनुसार नै भएको दाबी गर्दै बाँकी अधिवेशनका लागि पनि आवश्यक तयारी पूरा भएको बताए।

मोरङ जिल्ला अधिवेशनलाई देउवा पक्षले पार्टीको संगठनात्मक संरचना व्यवस्थित गर्ने र जिल्ला नेतृत्व चयन गर्ने महत्त्वपूर्ण प्रक्रियाका रूपमा अघि बढाएको छ।