छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरू तयार


काठमाडौँ । सूर्यदेवप्रति श्रद्धा, आस्था र भक्तिभाव प्रकट गर्दै मनाइने छठ पर्वको मुख्य दिन आज देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वमा आज साँझ व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य अर्पण गर्नेछन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो। नहाय–खायबाट सुरु भएको पर्वको दोस्रो दिन शनिबार खरना विधि सम्पन्न गरिएको थियो। आज षष्ठीका दिन कठोर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् सम्पन्न हुनेछ।

छठ पर्वलाई सूर्यदेव र छठी माताको उपासना गरिने महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ। यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको आराधना गर्ने गर्छन्।

पौराणिक मान्यता र धार्मिक विश्वास

पौराणिक कथनअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। उनीहरू विराट राजाको दरबारमा बस्दा सूर्यको उपासना गरेको र त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको लोकविश्वास छ।

त्यसैगरी सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख पाइन्छ। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक मान्यता छ।

सूर्यलाई सम्पूर्ण जीवजगत्को जीवन र ऊर्जाको प्रमुख स्रोत मानिन्छ। वनस्पति, प्राणी तथा समग्र प्रकृतिको अस्तित्व सूर्यको प्रकाश र तापसँग जोडिएको छ। यही कारण छठ पर्वमा सूर्यदेवप्रति कृतज्ञता प्रकट गर्दै विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ।

पुराणमा श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगबाट पीडित भएपछि सूर्यदेवको आराधना गरी रोगमुक्त भएको प्रसंगसमेत उल्लेख छ। यसैले छठ पर्वमा व्रत तथा सूर्यको उपासना गर्दा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास पनि रहिआएको छ।

यस्तो छ छठको व्रतविधि

छठ पर्व चार दिनसम्म विभिन्न धार्मिक विधिअनुसार मनाइन्छ। पहिलो दिन कार्तिक शुक्ल चतुर्थीमा व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्। यस दिनलाई नहाय–खाय भनिन्छ।

दोस्रो दिन अर्थात् पञ्चमीमा खरना विधि गरिन्छ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ सखर वा गुड मिसाएर बनाइएको खीरलगायत प्रसाद छठी मातालाई अर्पण गरी ग्रहण गर्छन्। खरना सम्पन्न गरेपछि व्रतालुहरू निर्जला व्रतमा बस्ने परम्परा छ।

तेस्रो दिन षष्ठीका दिन दिनभर निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। फलफूल, ठकुवा, भुसुवा, नरिवल, उखु, केरा तथा अन्य प्रसाद बाँसका ढाकी र सुपलीमा सजाएर सूर्यदेवलाई अर्पण गरिन्छ।

गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीका दिन रातभर जाग्राम बसेर भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। त्यसपछि व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत समापन गर्नेछन्।

काठमाडौँका छठ घाटमा विशेष तयारी

छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न नदी, पोखरी तथा जलाशयमा विशेष सजावट र व्यवस्थापन गरिएको छ। गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत स्थानमा छठ पूजाका लागि घाटहरू सजाइएको छ।

त्यसैगरी वागमती, नख्खु र विष्णुमती नदी किनारमा पनि व्रतालु तथा भक्तजनका लागि पूजा व्यवस्थापन गरिएको छ। छठ घाटहरूमा सरसफाइ, सजावट र पूजाका सामग्री व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।

छठ पर्वमा सहभागी हुन व्रतालु तथा परिवारका सदस्यहरू साँझदेखि नै घाटमा पुग्ने गर्छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर छठी माताको पूजा आराधना गर्दै भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।

तराईबाट राष्ट्रिय पर्वका रूपमा विस्तार

विगतमा तराई–मधेसका सीमित क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्व अहिले देशका विभिन्न भूभागमा विस्तार भएको छ। विशेषगरी काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत यसको धार्मिक र सांस्कृतिक महत्त्व बढ्दै गएको छ।

विसं २०४६ पछि छठ पर्वले राष्ट्रिय पहिचान प्राप्त गर्दै व्यापकता पाएको मानिन्छ। सरकारले पनि छठका अवसरमा सार्वजनिक बिदा दिने परम्परालाई निरन्तरता दिँदै आएको छ।

छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता, सामूहिक सहभागिता र प्रकृतिप्रतिको सम्मानको सन्देशसमेत दिने गरेको छ। जातजाति, भाषा र समुदायबीचको सद्भावलाई जोड्ने पर्वका रूपमा पनि छठको महत्त्व बढ्दै गएको छ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठको मुख्य पूजा सम्पन्न हुनेछ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिन लामो छठ पर्व विधिवत् समापन हुनेछ।