प्रधानमन्त्री र पार्टी सभापतिबीच मतभेद छैन : महामन्त्री आचार्य


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच कुनै मतभेद नरहेको स्पष्ट पारेका छन्। पार्टी र सरकारबीच असमझदारी रहेको भन्ने चर्चालाई अस्वीकार गर्दै उनले दुवै एउटै चरण र लयमा अघि बढिरहेको बताएका हुन्।

आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच हिजो पनि मतभेद नरहेको र आज पनि नरहेको बताए।

उनका अनुसार पार्टीभित्र प्रधानमन्त्री र सभापतिका विषयमा विभिन्न साझा सुझावहरू आएका छन्। सांसदहरूले तथ्य र आधारसहित उठाएका विषयमा पनि नेतृत्वबीच कुनै मतभेद नरहेको उनले स्पष्ट पारे।

पार्टी र सरकारबीचको सम्बन्धबारे बोल्दै आचार्यले सरकार रास्वपाकै भएकाले पार्टीले सरकारका कामकारबाहीमाथि आवश्यक सुझाव र प्रश्न उठाउनु स्वाभाविक भएको बताए। सरकारलाई सही दिशामा अघि बढाउन पार्टीले सचेत गराउने र पार्टीका गतिविधिमा पनि सरकारले आवश्यक सुझाव दिन सक्ने उनको भनाइ छ।

उनले भने, ‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ ।’

महामन्त्री आचार्यले पार्टीभित्र आन्तरिक विवाद रहेको भन्ने चर्चासमेत अस्वीकार गरेका छन्। उनका अनुसार पार्टी र सरकारबीचको सम्बन्ध सहकार्य, समन्वय र आपसी जवाफदेहितामा आधारित छ।

सरकारका कामकारबाहीबारे पार्टीले प्रश्न उठाउनु वा पार्टीका निर्णयबारे सरकारले धारणा राख्नु असमझदारी नभई लोकतान्त्रिक राजनीतिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको उनले संकेत गरेका छन्।

प्रधानमन्त्री र पार्टी सभापतिबीच मतभेद नरहेको दोहोर्‍याउँदै आचार्यले पार्टी र सरकार एउटै लय तथा चरणमा अगाडि बढिरहेको बताएका छन्।

यसैबीच महामन्त्री आचार्यको नेतृत्वमा रास्वपाका २० सदस्यीय प्रतिनिधिमण्डल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा प्रस्थान गरेको छ। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।