विमानस्थलबाट साढे ३ किलो गाँजासहित भारतीय युवक पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा थाई गाँजासहित एक भारतीय युवक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शनिबार ३ किलो ५०० ग्राम थाइल्यान्डबाट ल्याइएको गाँजासहित उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान नाम गरेका युवक रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार उनलाई विमानस्थलबाट बाहिरिने क्रममा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सलमान नयाँ दिल्लीबाट काठमाडौं आएका थिए। उनी काठमाडौं विमानस्थलमा ओर्लिएपछि थाइल्यान्डबाट आएको गाँजा राखिएको लगेज रिसिभ गरेर बाहिरिँदै थिए। सोही क्रममा ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा थाइल्यान्डबाट गाँजा बोकेर आएको विमानको आगमन समयसँग मिलाएर सलमान दिल्लीबाट काठमाडौं आएको खुलेको छ। उनले थाइल्यान्डबाट पठाइएको लगेज विमानस्थलमा रिसिभ गर्ने जिम्मेवारी लिएको हुन सक्ने प्रहरीको आशंका छ।

अनुसन्धानका क्रममा थाइल्यान्डबाट गाँजा पठाइएको र भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका सलमानले उक्त लगेज बुझ्ने गरी समय मिलाएको देखिएको प्रहरी स्रोतले जनाएको छ।

विमानस्थलको सुरक्षा जाँच तथा निगरानीका क्रममा लागुऔषध बरामद भएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको छ। बरामद गाँजा कसले पठाएको हो, यसको कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन तथा यसमा कुनै संगठित सञ्जाल सक्रिय छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका सलमानमाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनासँग जोडिएका अन्य सम्भावित व्यक्तिहरूको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।