काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन शाहले सरकार सञ्चालनका क्रममा चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन्। सरकारका कामकारबाहीमा पार्टीले अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पार्दै उनले प्रधानमन्त्रीलाई आवश्यक निर्णय लिन स्वतन्त्रता रहेको बताएका हुन्।
विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीकै भएकाले पार्टीले आन्तरिक प्रशासनिक तथा कार्यकारी निर्णयमा हस्तक्षेप गर्न नचाहेको बताए।
सरकारअन्तर्गतका निकाय र विभिन्न पदमा रहेका व्यक्तिहरूबारे पार्टीले अत्यधिक चासो राख्दा त्यसलाई हस्तक्षेपका रूपमा बुझ्न सकिने उनको भनाइ थियो। सरकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्ने पार्टीको मान्यता रहेको उनले स्पष्ट पारे।
‘प्रधानमन्त्रीज्यूले केही कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ,’ खरेलले भने।
पछिल्लो समय गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा सरकारका अन्य व्यक्तिहरूको भूमिकालाई लिएर सार्वजनिक रूपमा विभिन्न प्रश्न उठिरहेका छन्। तर, ती विषयहरू पार्टीको औपचारिक छलफलमा प्रवेश नगरेको खरेलले जानकारी दिए।
प्रधानमन्त्रीले ती विषयमा के सोचिरहेका छन् र सरकारले के गरिरहेको छ भन्नेबारे पार्टीले प्रतीक्षा गरिरहेको उनको भनाइ छ। पार्टी सभापति, महामन्त्रीसहित सम्पूर्ण नेतृत्व सरकार सञ्चालनमा कुनै अवरोध वा हस्तक्षेपको महसुस नहोस् भन्नेमा सचेत रहेको उनले बताए।
आईजीपीबारे सरकारलाई पार्टीको निर्देशन छैन
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) लाई हटाउने वा निरन्तरता दिने विषयमा पनि खरेलले पार्टीको धारणा स्पष्ट पारेका छन्।
आईजीपीलाई हटाउन वा पदमा निरन्तरता दिनुपर्छ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उनले बताए। यो विषय सरकारको विवेक र निर्णयमा निर्भर रहने उनको भनाइ छ।
उक्त विषय अदालतसम्म पुगेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारले आवश्यकताअनुसार आफ्नो धारणा स्पष्ट पार्दै जाने उनले उल्लेख गरे।
२० सदस्यीय रास्वपा टोली चीन भ्रमणमा जाँदै
यसैबीच, रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उक्त टोली चीन जान लागेको प्रवक्ता खरेलले जानकारी दिए।
चीनको सत्तारुढ दलले रास्वपालाई भ्रमणको निमन्त्रणा दिएको उल्लेख गर्दै उनले दुई देशका सत्तारुढ राजनीतिक दलबीचको निमन्त्रणाअनुसार भ्रमण हुन लागेको बताए।
उक्त भ्रमणलाई दुई देशका राजनीतिक दलबीचको आपसी सम्बन्ध, अनुभव आदानप्रदान तथा सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। भ्रमणका क्रममा हुने भेटघाट र छलफलले दुई दलबीचको सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया