बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा खोल्ने पक्षमा छैनौं : आङ्वो


ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्वोले वामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउने पार्टीको कुनै योजना नरहेको बताएका छन्। उनले लोकतान्त्रिक शक्तिसँग सदन र सडकमा सहकार्य गर्ने तथा वामपन्थी शक्तिबीच निर्वाचनमा कार्यगत एकता गर्ने पार्टीको रणनीति रहेको स्पष्ट पारेका छन्।

नेकपा कोशी प्रदेशसभा संसदीय दलका नेता तथा कोशी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्रीसमेत रहेका आङ्वोले आइतबार ताप्लेजुङको फुङलिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो धारणा राखेका हुन्। पार्टीको दुई महिने जागरण अभियानका क्रममा ताप्लेजुङ आइपुगेका उनले तत्काल पार्टी एकताभन्दा चुनावी सहकार्यलाई प्राथमिकतामा राखिएको बताए।

आङ्वोका अनुसार नेकपाको पहिलो प्राथमिकता पार्टीलाई सुदृढ र संगठित बनाएर एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नु हो। त्यसो हुन नसके दोस्रो विकल्पका रूपमा वामपन्थी शक्तिबीच चुनावी मोर्चाबन्दी गर्ने रणनीति पार्टीले अघि सारेको छ।

‘पार्टीलाई सुदृढ र संगठित बनाएर पहिला त एक्लै निर्वाचनमा होमिने पार्टीको रणनीति हुनेछ,’ उनले भने, ‘दोस्रो विकल्पमा वामपन्थी शक्तिबीच निर्वाचनमा मोर्चाबन्दी गर्ने प्रक्रियामा पार्टी अघि बढ्नेछ।’

वामपन्थी दलहरूबीच पार्टी एकताको चर्चा भइरहे पनि नेकपा तत्काल एकताभन्दा निर्वाचनमा कार्यगत एकताको पक्षमा रहेको उनको भनाइ छ। स्थानीय तह र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिबीच सहकार्य गर्दै राष्ट्रियसभामा समेत आफ्नो उपस्थिति बलियो बनाउने पार्टीको लक्ष्य रहेको उनले बताए।

दुई तिहाइ नजिकको वर्तमान संघीय सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै आङ्वोले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्न लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। विस्तृत शान्ति सम्झौता र १९ दिने जनआन्दोलनका पक्षधर शक्तिबीच सदन तथा सडकमा सहकार्य र वामपन्थी दलहरूबीच निर्वाचनमा एकता हुने राजनीतिक परिस्थिति विकसित भइरहेको उनको दाबी छ।

सरकारलाई दिएको छ महिनाको शंकाको सुविधा समाप्त हुँदै जाँदा सरकारको कार्यशैली अधिनायकवादी देखिन थालेको उनले आरोप लगाए। सञ्चार विधेयक, सामाजिक सञ्जाल नियन्त्रण तथा नियमनसम्बन्धी विधेयकलगायत कानुनी प्रावधानमार्फत नागरिकका अधिकार कुण्ठित गर्न खोजिएको उनको भनाइ थियो।

पार्टीको संगठनात्मक सुदृढीकरण, संविधान र लोकतन्त्रको संरक्षण तथा कार्यकर्ताको भावना बुझ्ने उद्देश्यले दुई महिने जागरण अभियान सञ्चालन गरिएको आङ्वोले बताए। अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्तासँग छलफल गरी उनीहरूका सुझाव र गुनासो सम्बोधन गरिने उनले जानकारी दिए।

यसैबीच, कोशी प्रदेश सरकारले ल्याएको बजेट पुनरावलोकनको तयारी भइरहेको पनि आङ्वोले बताए। विगतमा बजेट विनियोजन गर्दा देखिएको असन्तुलन हटाउने र नेता तथा मन्त्रीको प्रभावमा परेर छनोट गरिएका योजनामा आवश्यक परिवर्तन गर्ने उनको भनाइ छ।

‘अबको बजेट पुनरावलोकनमा विगतमा भएको बजेटको असन्तुलन हटाएर नेता र मन्त्रीको प्रभावमा तय भएका योजना र बजेटमा सापेक्ष परिवर्तन हुनेछ,’ उनले भने।

कोशी प्रदेश सरकारले पारित गरेको भाषा विधेयक र प्रदेशसभा सञ्चालन नियमावलीले पहिचान तथा प्रदेशको नामकरण पुनरावलोकनका लागि आधार तयार गरेको पनि आङ्वोले दाबी गरे। भाषा विधेयकले पहिचानको मुद्दालाई सरकारी तहबाट थप व्यवस्थित र सुदृढ गर्ने उनको भनाइ छ।

प्रदेशसभा सञ्चालन नियमावली पारित भएसँगै प्रदेशको नामकरण पुनरावलोकनका लागि सदनमा प्रस्ताव लैजाने बाटो खुलेको उल्लेख गर्दै उनले दुई तिहाइ सदस्यको समर्थन जुटे कोशी प्रदेशको पुनः नामकरण सम्भव रहेको बताए।

यस्तै, पाथीभरा केबलकार निर्माणका विषयमा बोल्दै आङ्वोले आफ्नो पार्टी केबलकार निर्माणको विपक्षमा नरहेको स्पष्ट पारे। तर स्थानीय सरोकारवालाको सहमति र सहभागिताबिना बल प्रयोग गरेर निर्माण अघि बढाउन नहुने उनको धारणा छ।

निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्न नहुने बताउँदै उनले स्थानीय समुदायको चासो र सरोकारलाई सम्बोधन गरेर मात्रै केबलकार निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए।