राष्ट्रिय एकता र सद्भावको प्रतीक हो छठ पर्व : प्रदेश प्रमुख भट्ट


पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले सूर्य, जल र प्रकृतिको आराधना गरिने यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएका हुन्।

उनले छठ पर्वले प्रकृतिप्रति सम्मान, आस्था र कृतज्ञताको भावना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण र प्राकृतिक स्रोतको महत्त्वबारे समेत सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरेका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

प्रदेश प्रमुख भट्टले छठ पर्वले राष्ट्रिय एकता, अखण्डता र सामाजिक मेलमिलाप कायम राख्दै मुलुकमा शान्ति, अमनचयन र आपसी विश्वास प्रवर्द्धन गर्न प्रेरणा दिने बताएका छन्।

उनका अनुसार यस्ता सांस्कृतिक तथा धार्मिक पर्वले समाजमा विद्यमान विविधतालाई सम्मान गर्दै एकताबद्ध समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। छठ पर्वले सबै समुदायबीच आपसी समझदारी, सहयोग र सहकार्यको भावना विकास गर्न मद्दत पुर्‍याउने उनको विश्वास छ।

उनले छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावना अझ सुदृढ बनाउँदै समृद्ध, शान्त र एकताबद्ध राष्ट्र निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रदेश प्रमुख भट्टले छठ पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन्।