काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई जनताले दिएको जिम्मेवारीअनुसार काम गर्न चेतावनी दिएका छन्। उनले सरकार सञ्चालनमा कमजोरी देखिए त्यसको असर समग्र देश र जनताले भोग्नुपर्ने बताएका छन्।
छठ पर्व मनाउन सर्लाही पुगेका थापाले आइतबार आयोजित कार्यक्रममा बोल्दै गत निर्वाचनले रास्वपालाई सरकार सञ्चालन र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको उल्लेख गरे। जनताले दिएको जिम्मेवारीलाई दुवै पक्षले इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
‘अघिल्लो निर्वाचनबाट कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी र रास्वपालाई सरकारको जिम्मेवारी जनताले दिएका छन्,’ थापाले भने, ‘सरकार ठीक ढंगले चलेन भने देशले दुःख पाउँछ।’
उनले सरकारको कामकारबाहीप्रति प्रतिपक्षले प्रश्न उठाउनु स्वाभाविक राजनीतिक प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई अन्य रूपमा व्याख्या नगर्न पनि आग्रह गरे।
सरकारको आलोचना गर्दा षड्यन्त्र र घेराबन्दीको आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै थापाले आफूहरू त्यस्ता प्रवृत्तिको सामना गर्न सक्षम रहेको बताए।
‘हामीले यस्तो कुरा गर्दा षड्यन्त्र र घेराबन्दीको कुरा आउँछ भने पनि हामी यस्तो प्रवृत्तिलाई चिर्ने तागत राख्छौँ,’ उनले भने।
थापाको अभिव्यक्तिले सरकार र प्रतिपक्षबीचको सम्बन्ध, संसदीय उत्तरदायित्व तथा सरकारको कार्यसम्पादनमाथि कांग्रेसले राख्ने निगरानीलाई जोड दिएको देखिन्छ।
उनले जनताले दिएको जनादेशअनुसार रास्वपाले सरकार सञ्चालन गर्नुपर्ने र कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने सन्देश दिएका छन्।
सरकारका कामकारबाहीमा कमजोरी देखिए त्यसबारे प्रश्न उठाउनु प्रतिपक्षको जिम्मेवारी भएको उनको भनाइको आशय छ। लोकतान्त्रिक व्यवस्थामा सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुने भएकाले आलोचनालाई षड्यन्त्रका रूपमा लिन नहुने उनको धारणा देखिन्छ।

















प्रतिक्रिया