काठमाडौं । जापानमा बिरामी परेकी विष्णु कुँवरको उद्धार र उपचारसम्बन्धी समाचारमा आफ्नो भूमिका र योगदानलाई बेवास्ता गरिएको भन्दै उहाँको उपचारमा सुरुदेखि साथ दिँदै आएका व्यक्तिहरूले आपत्ति जनाएका छन्।
विष्णु कुँवर जापानमा अलपत्र परेको नभई बिरामी भएपछि आफूहरूले निरन्तर साथ दिँदै आएको उनीहरूको दाबी छ। बिरामी भएको ११औँ दिनदेखि आफू स्वयं विष्णुको साथमा रहेको र ६ महिना पूरा भई सातौँ महिना लाग्दासम्म हरेक सुखदुःखमा साथ दिएको एक सहयोगीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्।

त्यस्तै, सुमन बानियाँ पनि विष्णु बिरामी भएको नवौँ दिनदेखि निरन्तर साथमा रहेको र आफ्नै परिवारको सदस्यझैँ हेरचाह गर्दै थप उपचारका लागि नेपाल ल्याउन गएको उल्लेख गरिएको छ।
नेपालमा थप उपचारका लागि डा. सुनील शर्माले गरेको पहल, सहयोग तथा निःशुल्क उपचारको प्रतिबद्धताको भने उनीहरूले प्रशंसा गरेका छन्। तर, डा. शर्माको योगदानलाई प्रस्तुत गर्दा विगत ६ महिनादेखि विष्णुको उपचार र हेरचाहमा खटिएका व्यक्तिहरूको भूमिका ओझेलमा पारिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।

‘कसैको सहयोगलाई सम्मान गर्न अर्को व्यक्तिको त्याग र भूमिकालाई अस्वीकार गर्नुपर्दैन,’ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको प्रतिक्रियामा भनिएको छ।
सम्बन्धित व्यक्तिसँग वास्तविकता नबुझी र तथ्यको पुष्टि नगरी समाचार लेखिएको भन्दै उनीहरूले पत्रकारिताको जिम्मेवारी र मर्यादामाथि समेत प्रश्न उठाएका छन्।
विष्णुको स्वास्थ्यमा सुधार आओस्, उहाँ पुनः आफ्नै खुट्टामा उभिन सकून् र अधुरा सपना पूरा गर्न सकून् भन्ने उद्देश्यले आफूहरूले साथ दिएको उनीहरूको भनाइ छ।

उनीहरूले विष्णुको उपचार यात्रामा सहयोग गर्ने सबैको योगदानको उचित सम्मान गर्दै सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

















प्रतिक्रिया