विश्वका प्रभावशाली मुस्लिमको सूचीमा पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख शीर्ष स्थानमा


नयाँ दिल्ली । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिर विश्वका प्रभावशाली मुस्लिम व्यक्तित्वको सूची ‘द मुस्लिम ५००’ मा संयुक्त रूपमा पहिलो स्थानमा परेका छन्।

सन् २०२७ को १८औँ संस्करणमा उनीहरूसँगै साउदी अरबका राजा सलमान, क्राउन प्रिन्स मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि संयुक्त रूपमा शीर्ष स्थान दिइएको छ।

जोर्डनस्थित रोयल इस्लामिक स्ट्राटेजिक स्टडिज सेन्टरले सार्वजनिक गरेको सूचीमा उनीहरू पहिलो स्थानमा पर्नुको प्रमुख कारण साउदी अरब, पाकिस्तान र टर्कीबीच भएको सुरक्षा सहकार्यलाई मानिएको छ।

सूचीमा भारतका २२ जना समेटिएका छन्। भारतबाट मौलाना महमुद मदनी १८औँ स्थानमा पर्दै शीर्ष ५० मा अटाउने एकमात्र व्यक्ति बनेका छन्। बलिउड अभिनेता शाहरुख खान, आमिर खान, संगीतकार एआर रहमान र सांसद असदुद्दीन ओवैसी पनि सूचीमा छन्।

शीर्ष ५० मा इरानका सर्वोच्च नेता मुज्तबा खामेनी चौथो, जोर्डनका राजा अब्दुल्लाह द्वितीय पाँचौँ र कतारका अमिर शेख तमिम बिन हमद अल थानी छैटौँ स्थानमा छन्। अमेरिकी सहर न्युयोर्कका मेयर जोहरान ममदानी पनि ४९औँ स्थानमा समेटिएका छन्।