कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ।
फाइनल प्रवेशका लागि दुवै टोलीलाई जित्नैपर्ने दबाब छ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो। चितवन भने एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो।
काठमाडौंविरुद्धको खेलमा चितवनका कामिल मिश्राले ५९ बलमा अविजित १२० रन बनाएका थिए। रवि बोपाराले ५३ रनको योगदान दिएका थिए। चितवनले उक्त खेलमा २०४ रन बनाएको थियो।
अर्कोतर्फ, पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीविरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्रै बनाएको थियो। त्यसैले चितवनविरुद्ध सुदूरपश्चिमको ब्याटिङ सुधार चुनौतीपूर्ण हुनेछ।
यस खेलको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

















प्रतिक्रिया