पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ


काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धानका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि विदेश गएका अर्याल भारतको कोलकातामा रहेको जानकारी पाएपछि भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा नियन्त्रणमा लिइएका हुन् ।

उनीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उक्त प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन् ।

अर्याललाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ । प्रहरीले पक्राउको स्थान र समयबारे औपचारिक जानकारी भने सार्वजनिक गरिसकेको छैन ।