रविले पत्रकार हुँदा बनाएको मुसहर बस्तीमा लालपुर्जाको समस्या बुझ्न पुगिन् भूमिमन्त्री रावल


सप्तरी । २०७४ सालको बाढीपछि तत्कालीन न्युज ट्वान्टी फोर टेलिभिजनका पत्रकार रवि लामिछानेको पहलमा निर्माण गरिएको सप्तरीको मुसहर बस्तीका ५२ परिवार अझै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को प्रतीक्षामा छन् । वर्षौँदेखि बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व नपाएका उनीहरूको समस्या बुझ्न भूमिमन्त्री प्रतिभा रावल बस्तीमै पुगेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले सरकारको नेतृत्व गरिरहेको दलका प्रमुख रहेका बेला उनकै पहलमा निर्माण भएको बस्तीका नागरिकले अझै लालपुर्जा नपाएको विषय चासोको केन्द्र बनेको छ ।

शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४, कोइलाडीस्थित मुसहर बस्ती पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरेकी हुन् ।

उनले वर्षौँदेखि बसोबास गर्दै आएका ५२ परिवारले हालसम्म लालपुर्जा नपाउनुको कारण, जग्गाको अवस्था र समस्या समाधानका सम्भावित उपायबारे जानकारी लिइन् ।

२०७४ सालको बाढीबाट प्रभावित मुसहर समुदायका परिवारलाई तत्कालीन पत्रकार लामिछानेको पहलमा घर निर्माण गरी बसोबासको व्यवस्था मिलाइएको थियो । सुरक्षित आवास पाए पनि जग्गाको कानुनी स्वामित्व नपाउँदा उनीहरूको समस्या भने वर्षौँदेखि यथावत् छ ।

बस्ती निरीक्षणका क्रममा स्थानीयवासीले मन्त्री रावलसँग लालपुर्जा उपलब्ध गराउन माग गरेका छन् । परिवारको सङ्ख्या बढ्दै जाँदा घर साँघुरो भएको, कोठा अभाव रहेको तथा घर मर्मत र थप कोठा निर्माण गर्नुपर्ने समस्या पनि उनीहरूले सुनाएका छन् । साथै, जग्गाको क्षेत्रफल विस्तार गर्नुपर्ने मागसमेत राखेका छन् ।

स्थानीयका समस्या सुनेपछि मन्त्री रावलले बस्तीका परिवारलाई जग्गाको स्वामित्व दिलाउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइन् । उनले परिवारले भोगचलन गर्दै आएको जग्गा दर्ता भए–नभएको र बस्ती खोलानालाको जोखिममा रहे–नरहेको विषयमा अध्ययन गरिने बताइन् ।

मन्त्री रावलका अनुसार आगामी सोमबारदेखि बस्तीको वास्तविक अवस्था, जग्गाको विवरण, परिवार सङ्ख्या र स्थानीयका समस्यासहितको विस्तृत विवरण सङ्कलन गरिनेछ । उक्त अध्ययनबाट प्राप्त विवरणका आधारमा जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान गर्न आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

रवि लामिछानेको पहलमा घर पाएका ५२ परिवारले अब लालपुर्जा पनि पाउलान् कि नपाउलान् भन्ने चासो बढेको छ । वर्षौँदेखिको प्रतीक्षालाई अन्त्य गर्न सरकारी अध्ययन र त्यसपछि चालिने कदम निर्णायक हुने देखिएको छ ।