अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पछि उत्साहित बनेका पर्सास्थित ठोरीको रामनगरका स्थानीयले दीपावली गरेका छन्।वडा नम्बर–२ का वडा अध्यक्ष सूर्यबहादुर लामाका अनुसार रामनगरको गोकर्णेश्वर रामकृष्ण मन्दिरसहितको क्षेत्रमा स्थानीयले दीपावली गरेका हुन्।
स्थानीयले दीपावलीका साथै गोकर्णेश्वर राममकृष्ण मन्दिरमा भव्य भजन कीर्तन कार्यक्रम राखेका थिए। त्यहाँका स्थानीयले ठोरी क्षेत्र नै भगवान रामको जन्मस्थल भएको र अयोध्या भारतमा नभइ नेपालमा पर्ने दाबी गरेका छन्।स्थानीयले बिहीबार बिहान राम जन्मभूमिका रुपमा ठोरीको सो मन्दिर तथा सीता गुफामा भव्य पूजाआजा गरेका थिए। सो पूजा आजामा प्रधानमन्त्री केपी शर्मा ओली जिन्दावादको नारा लगाइएको थियो। पूजामा हिन्दू पूरोहित तथा बौद्ध लामाहरुले पूजापाठ गरेका थिए।
प्रधानमन्त्री ओलीले केही दिनअघि रामको जन्मस्थल भनिएको अयोध्या नेपालमै पर्ने र राम नेपाली नै भएको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको देशभित्र तथा बाहिर तिब्र विरोध भएपछि ठोरीका स्थानीय भने उत्साहित बनेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीले यस क्षेत्रको अध्ययन गरेरै बोलेको बताउँदै आएका छन्।
प्रतिक्रिया