कर्णाली प्रदेशमा सलह किराको कारण बाली जोगाउनै मुस्किल (हेर्नुहोस भिडियो सहित )


कर्णाली प्रदेशमा ठूलो समूहमा सलह किरा देखिएको छ । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह शुक्रबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो संख्यामा देखिएको हो ।बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार वीरेन्द्रनगर पुगेको कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत याम रानाले जानकारी दिए ।वीरेन्द्रनगरको सुब्बाकुना हुँदै देखिएको सलह पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा पसेको छ । ठूलो संख्यामा सलह पसेपछि कृषकहरु थाल बजाउँदै, आगो बाल्दै खेतबारीमा पुगेका छन् ।

कृषि मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितले सलह ठूलो संख्यामा आएकाले थाली र ड्रम बजाएर सलह भगाउन कृषकलाई आग्रह गरेका छन् ।ठूलो संख्यामा सलह देखिएकोले नियन्त्रण गर्न विषादी प्रयोग गर्नुपर्ने भए पनि यो उपयुक्त समय नभएको उनको भनाइ छ ।
अहिले मकै र धानको ब्याड हुने भएकाले सलह किराको जोखिम त्यसमा बढ्न सक्ने अनुमान गरिएको उनले बताए । ‘हाम्रो प्रदेशमा अरुभन्दा पनि मकै र धानको ब्याडमा सलहको प्रभाव पर्ने जोखिम छ,’ उनले भने, ‘हामीले कृषकहरुलाई थाली बजाएर ध्वनी निकाल्दै मकै र ब्याड बचाउन भन्ने सुझाव दिएका छौं, यसबारेमा अरु पनि हामीले छलफल गरिरहेका छौं ।’

कर्णालीका ९ जिल्लामा पुग्यो सलह

कृषि मन्त्रालयका अनुसार कर्णाली प्रदेशका नौं जिल्लामा सलह देखिएको छ । प्रदेशका १० जिल्लामध्ये मुगुमा हालसम्म नदेखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितका अनुसार दाङ हुँदै सलह कर्णालीका विभिन्न जिल्ला पसेको हो ।

बाली जोगाउन मुस्किल

शुक्रबार ठूलो संख्यामा प्रवेश गरेको सलह किराले वीरेन्द्रनगरको पिपिरा, नेवारे, इत्राम हुँदै उपत्यकाका विभिन्न ठाउँमा बाली खान थालेको छ ।

सलह किराले मकै, धानको बिउ र तरकारी नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् । सलह बारीमा पसेपछि बाली बचाउन हम्मेहम्मे परेको वीरेन्द्रनगर-१२ नेवारेका सन्त सारुले बताए ।उनका अनुसार बाली र तरकारी बचाउन किसानले पहरा दिन थालेका छन् । ‘कतै बाली लगाएको ठाउँमा आगो लगाएका छौं भने केही ठाउँमा थाल र टिन बजाएर धपाउने प्रयास गरेका छौं,’ उनले भने, ‘बाली नष्ट पार्न थालेपछि यस वर्ष उत्पादन घट्ने निश्चित छ ।’

सलहले भोकमरी हुने डर भयो : मन्त्री केसी

कणर्ाली प्रदेशमा सलह किराको प्रवेशसँगै किसानले ठूलो क्षति बेहोर्नुपर्ने प्रदेश सरकारले अनुमान गरेको छ ।सामान्य अवस्थामै खाद्य संकट भोग्दै आएको कर्णालीमा यो वर्ष भने कोरोनाको महामारी र सलहले गर्दा भोकमारी नै पर्ने हो कि भन्ने डर भएको कणर्ाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

सलहले क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने तयारीसमेत भैरहेको मन्त्री केसीको भनाइ छ । ‘सलहले क्षति पुगेका किसानलाई राहात दिने विषयमा छलफल भैरहेकोे छ,’ मन्त्री केसीले भनिन, ‘हामी एउटा विशेष टिम नै बनाएर फिल्डमा पठाउँछौं । क्षतिको आधारमा केही राहतको व्यवस्था गर्छौं ।’