भारतमा २४ घन्टाभित्र ४० हजार बढीलाई कोरोना, ६८१ जनाको मृत्यु


भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो संख्या दैनिक संक्रमित भएकाहरूको संख्यामध्ये सबैभन्दा धेरै पनि हो।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ। त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४९७ पुगेको अधिकारीहरूले जानकारी दिएका छन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरूले जनाएका छन्।

भारतमा अहिले पनि ३ लाख ९० हजार ४५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १० हजार ४५५ जना संक्रमित भएका छन्। त्यसपछि तमिलनाडु र दिल्लीमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ।