लगातार वर्षाले देशका विभिन्न ठाउँको सडक अवरुद्ध,जनजीवन प्रभावित कहाँ कस्तो छ अवस्था ?(हेर्नुहोस भिडियो सहित )


लगातार वर्षाका कारण देशका विभिन्न ठाउँको सडक अवरुद्ध भएका छन् । काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरुद्ध भएको छ । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि सडक अवरुद्ध छ ।यस्तै नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, मलेखु धादिङबेसी सडकखण्डको परेवाटार, बाँके धन्सार सडकखण्डको चपुरदेखि झण्डै ३ किलोकिमर पूर्वको

जुडिवेला कजवेमा र सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको सडक विभागले जनाएको छ ।यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेको तथा बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वर र म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ ।

कान्ति लोकपथको घट्टे पख, बाग धारा, शिलालेख र छपेलीमा, साँफेबगर मार्तडी सडकको अम्कोट द्धावारी खण्ड तथा बेसीशहर चामे सडक अन्तर्गतको घोप्टे खोला, रामबजार र च्याम्चेमा खसेको पहिरो खसेकाले सडकखण्डमा गाडी चल्न सकेको छैन । यस्तै अरनिको राजमार्गको माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएकाले कहिले खुल्छ यकिन नभएको सडक विभागले जनाएको छ ।