सरकारले आगामी बुधबार एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अबको संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि ‘तयार’ भएका हुन् । यथास्थितिमा एमसीसी सम्झौताका पक्षमा मतदान भने नगर्ने दाहाल–नेपालको अडान छ । प्रतिनिधिसभा बैठक बुधबारका लागि बोलाइएको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले मंगलबार सत्ता गठबन्धन दलको बैठक बसेर एमसीसी सम्झौता संसद्मा ‘टेबल’ गर्ने विषयमा औपचारिक निर्णय गरिने बताए । ‘अब म एमसीसी रोक्न सक्दिनँ । ठूलो दबाब छ,’ शीर्ष नेताबीच शनिबार भएको बैठकमा देउवाले भनेका थिए, ‘एमसीसी रोकिए वैदेशिक सहायता बन्द हुन्छ । सरकार झन् संकटमा पर्छ ।’ त्यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालले सबै दलको सहमतिमा सम्झौता अनुमोदन गर्ने वातावरण बनाएर संसद्मा टेबल गर्न प्रधानमन्त्रीलाई बारम्बार सुझाएका थिए ।














प्रतिक्रिया