काठमाडौं । ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड-२०२६’ बाट सर्लाहीका संजय कुमार जयसवाल सम्मानित भएका छन्।
भाइब्रेन्ट तराई मधेशको आयोजना तथा मधेशी पत्रकार समाजको प्रवर्द्धनमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा जयसवाललाई ‘Social Activist & Leadership’ विधाअन्तर्गत अवार्ड प्रदान गरिएको हो।
सर्लाही क्षेत्र नं. ३ अन्तर्गत बरहथवा नगरपालिकाका जयसवाललाई सामाजिक सक्रियता तथा नेतृत्वको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका बरहथवा नगरपालिका संगठन विभाग प्रमुखसमेत हुन्।
कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका पूर्वउपकुलपति अमर यादव प्रमुख अतिथि तथा उद्योगपति राज लामा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
समारोहमा मधेशसहित देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट सामाजिक उद्यमशीलता, व्यवसाय, नेतृत्व तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
अवार्डबाट सम्मानित हुनेहरूमा सप्तरीका खुसी कर्ण, सिरहाका राम शोभित नायक, धनुषाका पंकज जलान, महोत्तरीका रमण कर्ण, सर्लाहीका संजय कुमार जयसवाल, रौतहटका उमेश कार्की, बाराका राजेश कुमार सिंह, पर्साका डा. अञ्जय मिश्र तथा रुपन्देहीका डा. दिनेश चमार र कमेडियन शुभम सिंह रहेका छन्।
आयोजकका अनुसार सामाजिक उद्यमशीलता, नेतृत्व क्षमता र सिर्जनात्मक योगदानलाई प्रोत्साहन गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्नु अवार्डको मुख्य उद्देश्य हो।
यस सम्मानले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई थप उत्साह र जिम्मेवारीका साथ समाज रूपान्तरणको अभियानमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया