प्राङ्कस्टर आकाश सेढाइँ पक्राउ


नेपाल प्रहरीको साइबर ब्यूरोले प्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ ।

प्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्यूरोले पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए । झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्राङ्क भिडियो बनाउँदै आएका थिए । उनी नेपालका सबैभन्दा पुरानो प्राङ्कस्टरमध्येमा पर्छन् । उनले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि एउटा प्राङ्क भिडियो अपलोड भएको देखिन्छ ।

गृह मन्त्रालयले १३ माघ २०७८ मा सार्वजनिक स्थलमा प्राङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्राङ्क भिडियो नबनाउन’ चेतावनी दिइएको थियो । एसएसपी अर्यालका अनुसार जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय अपराध ऐन, २०६३ अनुसार सेढाइँविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।