लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले बताएका छन् ।शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
तर हालसम्म सुनारको मृत्युको कारण खुलेको छैन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा फरेन्सिक डाक्टरहरुले शवको पोष्टमार्टम गरेका छन् । रिपोर्ट आइसकेको छैन । प्रारम्भिक जाँचमा सुनारको घाँटीमा ‘लिगेचर मार्क’बाहेक अन्य कुनै चोटपटक देखिएको छैन । शुक्रबार राति सँगै बसेका प्रेमी बिहान भागेर गएपछि घटना शंकास्पद बनेको छ । उनले सुनार ‘झुण्डिएको देखेपछि निकालेको’ बताएका छन् । आत्तिएर झुण्डिएको सल पनि लिएर गएको भन्दै उनले सल फ्याँकेको ठाउँ पनि देखाएका छन् । त्यही आधारमा सल बरामद भएको छ ।
तर उनले सुरुवातमा झुटो बयान दिनु र सुनारको मोबाइल हालसम्म नभेटिनुले घटनालाई शंकास्पद बनाएको छ । पीडित परिवारले ज्यान सम्बन्धी कसूरमा उनीविरुद्ध किटानी जाहेरी दिएको छ । पोष्टमार्टम रिपोर्टमा अन्यथा देखिए त्यही अनुसार प्रतिवेदन लैजाने प्रहरी तयारी छ ।गायिका सुनारको फेसबुकमा शनिबार राति १:१० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो ।
स्ट्याटसमा ‘आफ्नो इच्छाले यो कदम उचालेको’ भन्दै कसैलाई दोष नभएको भनिएको थियो । ‘कसैले खोजी नीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ स्ट्याटसमा भनिएको छ । पीडित पक्षले यो स्ट्याटसप्रति पनि शंका गरिरहेको छ ।
प्रतिक्रिया