औपचारिकताका लागि मनाइएको धान दिवसको रौनकले छोएन किसानलाई


सरकारले विभिन्न औपचारिक कार्यक्रम गरी असार १५ गते राष्ट्रिय धान दिवस मनाए पनि किसानको मुहारमा यो दिवसको रौनकता देखिएको छैन । रासायनिक मलको अभावले चिन्तित किसानलाई वर्षाले भने केही राहत दिएको छ ।

समयमा मल, सिञ्चाईको व्यवस्था नगर्ने तर क्यालेन्डर अनुसार औपचारिकताका लागि राष्ट्रिय धान दिवस मनाउनुको अर्थ नरहने किसानहरू बताउँछन्।
रुपन्देहीको सियारीमा प्रदेशको कृषि मन्त्रालयले धान दिवसका अवसरमा औपचारिक कार्यक्रम गरेको थियो ।

बुटवल नगरपालिका र तिलोत्तमा नगरपालिकाले पनि छुट्टाछुट्टै कार्यक्रम गरी धान दिवस मनाएका छन् ।

स्थानीय किसानहरूले मल नपाएर चर्को मूल्यमा लुकिछिपी भारतबाट ल्याएको मल खरिद गर्न बाध्य भएको बताउँछन् । कतिपय किसानहरूले मल अभावका बाबजुद पानी परेपछि उत्साहित हुँदै रोपाइँ सुरु गरेको रुपन्देहीको गौडहवाका रामकृष्ण चौधरीले बताए ।

३४ वर्षीय चौधरीले आफ्नो खेतमा अहिले भारतबाट आएको मल खरिद गरेर हाल्नुपरेको बताए । उनले भने, ‘पानी परेको छ, मल सरकारले उपलब्ध नगराएपछि उता सीमा तिरबाट आएको मल खरिद गरेर भए पनि रोपाइँ गर्नुपरेको छ ।’

बुटवल–१४, तामनगरका किसान बाबुराम घिमिरे पनि मल नपाएकोले मुर्गियामा सीमा क्षेत्रबाट आएको मल ल्याएर धान रोप्ने तयारी गरेको बताए ।

उनले भने, ‘सरकारले विभिन्न कार्यक्रम गरेको देख्छु, समाचार पनि हेर्छु तर हामीले मल नपाएको, सिंचाई नपाएको जस्ता समस्यामा ध्यान दिएको पाइँदैन ।’

अहिले रुपन्देहीका विभिन्न सीमा क्षेत्रमा भारतबाट मल ल्याउने गरेको स्थानीयहरू बताउँछन् ।

नेपाल सरकारले उपलब्ध गराउने मल नपाएपछि सीमाबाट साइकल तथा मोटरसाइकलमा ओसारिएका मल महँगो मूल्यमा खरिद गर्नु परेको उनीहरुको गुनासो छ ।

रुपन्देहीमा अहिले धेरैले डीएपी मल नपाएको गुनासो गरेका छन् ।