अवैध अनलाइन मुद्रा क्रिप्टोको माइनिङ गरेको आरोपमा दुई जना पक्राउ

720
Shares

 

सिटिइभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युड फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा अवैध अनलाइन मुद्रा क्रिप्टोको माइनिङ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भवनको इन्फर्मेशन टेक्नोलोजी ल्याबमा माइनिङ गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय विश्वास गुरूङ र भक्तपुर नगरपालिका-७ बस्ने २५ वर्षीय राजेन्द्र ताहामता
रहेका छन् । क्रिप्टो माइनिङ गरिरहेको भन्ने सूचनाको आधारमा सिआइबीको टोली खटिएको हो ।

उक्त टोलीले सिटिइभिटीको भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीहरूको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्‍युटरहरूमा क्रिप्टो माइनिङ एप्लिकेशन संचालन भएको पाइएको थियो।
सिआइबीले ती सर्भर र ६४ वटा सिपियू समेत बरामद गरेका छन् । उनीहरू दुई जनालाई सिआइबीले बुधबार सानोठिमीबाट पक्राउ गरेको हो। भक्तपुर जिल्ला अदालतबाट उनीहरूलाई ६ दिन हिरासतमा राख्न अनुमति समेत दिएका छन् ।